Logo

संसद् अवरुद्ध गर्नु प्रतिगमनको नमुना हो : अध्यक्ष नेपाल



Spread the love

५ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई पुनः प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेकाले त्यसविरुद्धका शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनले आज यहाँ आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक अन्तक्र्रियामा अध्यक्ष नेपालले संसद् अवरोध प्रतिगमनको एउटा नमुना भएको जिकिर गरे । नेकपा (एस)मा सहभागी भएका १४ सांसदमाथि गरिएको कारबाही कार्यान्वयनका विषयमा सभामुखले असहयोग गरेको आरोप लगाउँदै एमालेले संसद् अवरोध गर्दै आएको छ ।

राजनीतिक इतिहासका खलनायकले देशलाई प्रतिगमनतिर लैजान खोजेको आरोप लगाउँदै अध्यक्ष नेपालले पछिल्लो सरकार गठनका विषयमा सांसद स्वतन्त्र हुन पाउने अधिकारलाई सङ्कुचित बनाउन नहुने बताए । उनले अदालतमा विचारधिन विषयलाई लिएर संसद् गतिरोध गर्नु संविधान विपरित रहेको तर्क गरे ।

पूर्व प्रधानमन्त्री नेपालले प्रतिगमन विरुद्व निर्माण भएको गठबन्धनको संस्कृतिलाई आगामी निर्वाचन तथा त्यसपछि पनि निरन्तरता दिइने बताए । उनले निर्वाचनमा एकल पार्टीको बहुमत आउन कठिन रहेकाले पनि गठबन्धनले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा निरङ्कुशता लाद्न प्रतिगमनको प्रयास भएकाले त्यसको अन्त्य गर्नका लागि पाँच दलीय गठबन्धन गठन भएको स्पष्ट गरे । नेपाली कांग्रेस नेता कार्कीले आगामी दिनमा पनि गठबन्धनको शक्तिलाई थप बलियो बनाइने बताए ।

प्रतिक्रिया दिनुहोस्