Logo

वैशाख १४ गते स्थानीय निकायको निर्वाचनको प्रस्ताव



Spread the love

१० पुस, काठमाडाैँ । निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । आयोगका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै एकै दिन एकै चरणमा निर्वाचन हुने गरी मिति तोक्नु उपयुक्त हुने बताएको हो ।

पहिलो चरणमा सबै स्थानीय निकायको निर्वाचन गर्न सम्भव नभए दोस्रो चरणमा आगामी वेशाख २२ गते बिहीबारका दिन गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

आयोगले गरेको प्रस्ताव र सम्पादन गरेका कामलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले राजनीतिक दलहरुसँगको छलफलपछि आयोगको प्रस्तावलाई अगाडि बढाउने बताएका थिए । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचमा भोटिङ मेशिनको प्रयोग गर्ने सन्दर्भमा कुराकानी भएको थियो । प्रधानमन्त्रीले राजनीतिक दलसँगको छलफलका आधारमा सबै क्षत्रेमा प्रयोग गर्न नसकिए पनि केही निश्चित क्षेत्रमा भोटिङ मेशिन प्रयोग गर्दै जाने बताएका थिए ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार स्थानीय तहको निवार्चनका लागि आयोगले सिफारिस गर्ने र सरकारले मिति तोक्ने व्यवस्था छ । छलफलमा आयोगका पदाधिकारीको सहभागिता थियो । सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, मुख्यसचिव, गृह र अर्थ सचिवको उपस्थिति थियो ।

आयोगका अनुसार आजसम्म कूल पाँच लाख ७७ हजार ६६९ नयाँ मतदाताले आफ्नो नामावली दर्ता गराएका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय यही पुस २० गतेसम्म रहेको छ । आगामी जेठ ५ गते स्थानीय तहको पदाधिकारीको पदावधि सकिदैछ ।

प्रतिक्रिया दिनुहोस्