Logo

विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै रेसुङा मावि, बिना प्रयोगात्मक सिभिल इन्जिनियर पढाउँदै !



Spread the love

२२ पुस, गुल्मी । गुल्मीको रेसुङा नगरपालिका २ मा रहेको रेसुङा माध्यमिक विद्यालयले ठुलो लापर्बाही र विद्यार्थीको भविष्यमाथि गम्भीर खेलबाड गरेको पाइएको छ । विद्यालयले सिभिल इन्जिनियर जस्तो विषय पनि बिना प्राक्टिकल अर्थात् प्रयोगात्मक बिनै अध्यापन गराइरहेको पाइएको हो ।

पढाई सकिन्न लाग्दा समेत प्रयोगात्मकका सामाग्री खरिद गर्न आनाकानी गरी विद्यार्थीको भविष्यमाथि नै हेलचक्राई गरिरहेको छ ।अहिले कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीको पढाई वैशाखमा सकिदैँछ छ । यी विद्यार्थीहरूले ११ कक्षामा अध्ययन गर्दा प्रयोगात्मक त गर्नै पाएन भने १२ को पढाई सकिनै लाग्दा समेत कक्षा ११ र १२ का ५५ जना विद्यार्थीले प्रयोगात्मक भन्ने चिज देख्न र छुन समेत पाएका छैनन् ।

गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्दै विद्यालयले मासिक १५ शुल्क विद्यार्थीहरूबाट लिँदै आएको छ । सिभिल इन्जिनियर प्रयोगात्मक बिना अध्यापन गराउँदा विद्यार्थीलाई धेरै घाटा हुने गुनासो गरेका छन्। एक विद्यार्थीले भने, ‘प्रयोगात्मक बिनाको पढाइले १२ पछि जागिर पाउन गाह्रो हुन्छ पाए पनि हामीले जागिर गर्न सक्दैनौ किन भने हाम्रो बेसनै हुँदैनन् । फिल्ड भिजिट गरेपछि मात्रै हाम्रो पढाई दिगो र राम्रो हुने हो फिल्ड बिनाको पढाइले धेरै गाह्रो पर्छ । ‘

यता, विद्यालयका प्रधानाध्यापक प्रेम नारायण भण्डारीले भने दुई महिना अघि देखी सामाग्री खरिदको प्रक्रियामा छौँ माघको पहिला सातसम्म सामाग्री आउला ? पढाई सकिएपछि सामग्री ल्याएर हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘पढाई सकिए पनि हामीले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउँछौ।’

जिल्लाका अन्य सिभिल इन्जिनियर पढाई हुने विद्यालयको अवस्था कस्तो छ ?
सदरमुकाम तम्घासमै रहेको विद्यालयले सिभिल इन्जिनियर अध्यापनमा  मनपरी गरेको पाइएपछि हामीले जिल्लाका अन्य विद्यालयको बारेमा बुझ्दा त्यहाँको प्रयोगात्मक अभ्यास नियमित भएको पाइएको छ ।

जिल्लाको रुरु क्षेत्र गाउँपालिका ६ रिमुवास्थित जनज्योति माविमा २०७० सालदेखि सिभिल इन्जिनियरको अध्ययन भइरहेको छ ।त्यहाँका प्रधानाध्यापक भुवनेश्वर भुसालले आफ्नो विद्यालयमा सिभिल इन्जिनियरको पढाई सङै प्रयोगात्मक अभ्यास भएको जानकारी गराए । उनले भने, ‘ प्रयोगात्मक अभ्यास बिनाको इन्जिनियरको पढाई अधुरो र अपुरो हुने हुँदा अभ्यास सँगै अध्यापन गराइरहेका छौँ । ‘

ग्रामीण क्षेत्रको केही प्रयोगात्मक अभ्यासका सामाग्रीको अभाव भए पनि सरहरूले सामाजिक सञ्जाल युट्युबबाट भए पनि देखाउनु भएको छ , उनले भने साथै सिभिल इन्जिनियरको प्रयोगात्मकको सामग्री एक पटक किनेपछि धेरै वर्ष टिक्ने हुँदा पनि सहज भएको जानकारी गराए ।
अहिले त्यहाँ कक्षा ९ मा ३४ जना विद्यार्थी , कक्षा १० मा १७ जना, ११ मा १५ जना  र १२ मा  ८ जना विद्यार्थीले सिभिल इन्जिनियरको अध्ययन गरिरहेका छन् ।

यस्तै, यता जिल्लाको मुसिकोट नगरपालिका ७ मा रहेको महेन्द्र आदर्श माविमा प्रयोगात्मक अभ्याससहित सिभिल इन्जिनियरको पढाई भइरहेको विद्यालयले बताएको छ । सिभिल इन्जिनियरका शिक्षक सन्तोष बस्नेतले सल्लेरी खबरलाई भने, ‘हामीले नि:शुल्क सिभिल इन्जिनियरको अध्ययन गराइरहेका छौ ।हाम्रोमा सामग्रीको कुनै अभाव छैन । उनले थपे प्रयोगात्मक बिनाको सिभिल इन्जिनियरको पढाइको कुनै अर्थ छैन केही काम पनि छैन ।’

त्यस्तै, यता जिल्लाको छत्रकोट गाउँपालिका ५ को आत्मबोध माविमा पनि २०७६ सालदेखी सिभिल  इन्जिनियरको पढाई भइरहेको छ ।त्यस विद्यालयका प्रधानाध्यापक विष्णु  ज्ञवालीका अनुसार प्रयोगात्मक अभ्याससँगै सैद्धान्तिक पढाई भएको बताए । प्रयोगात्मकको लागि कुनै पनि सामग्रीको अभाव नरहेको उनको दाबी छ । गएका दुई आर्थिक वर्षमा विद्यालय ५० लाख बराबरको सामग्री खरिद गरेको उनले जानकारी गराए । उनले भने, ‘प्रयोगात्मक बिनाको पढाई सटिफिकेटमा मात्रै सीमित हुने भएका कारण हामीले प्रयोगात्मकमा कुनै कमी राखेका छैनौँ।’

त्यस विद्यालयमा कक्षा ९ मा २४ जना , कक्षा १० मा १७ जना र कक्षा ११ मा २४ जना विद्यार्थीले सिभिल इन्जिनियर पढिरहेका छन्। जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयमा प्रयोगात्मक सहित सिभिल इन्जिनियर अध्यापन भइरहँदा सदरमुकामकै विद्यालयले हचुवाका भरमा पढाउनु निन्दनीय विषय हो ।

प्रतिक्रिया दिनुहोस्