Logo

राजनीतिको चपेटामा गुल्मीको शिक्षा : प्राविको योग्यता, माविको हेडसर !



Spread the love

२७ पुस, गुल्मी । गुल्मीको शिक्षा क्षेत्रमा घिनलाग्दो राजनीति र चरम मनपरितन्त्र चलेको पाइएको छ । विभिन्न बहाना देखाउँदै प्रधानाध्यापक नियुक्तिमा राजनीतिक दाउपेच हेरीकन प्रधानाध्यापक नियुक्ति गरिएको छ ।

गुल्मी जिल्लामा १ सय २६ वटा सामुदायिक माध्यमिक विद्यालय छन् । माध्यमिक तहका लागि जिल्लामा २ सय ५६ दरबन्दी र १४२ वटा राहत कोटा रहेका छन् ।

जिल्लाका १ सय २६ वटा माध्यमिक विद्यालय मध्ये जम्मा ५१ वटा माध्यमिक विद्यालयमा पूर्ण दरबन्दी रहेको छ भने ३५ वटा विद्यालयमा राहत कोटाबाट मावि तहका शिक्षक नियुक्ति गरिएको छ । जिल्लाका अन्य ४० वटा विद्यालयमा कुनै दरबन्दी तथा राहत कोटा नै छैनन् ।

जिल्लाका अधिकांश मावि तहका विद्यालयमा प्रावि तथा निमावि तहका शिक्षकहरुलाई प्रधानाध्यापकमा नियुक्ति गरिएको छ । कतै माविको स्थायी शिक्षक नभएर प्रावि तथा निमावि तहका शिक्षकले मौका पाइरहेका छन् भने त कतै माविको स्थायी शिक्षक हुँदाहुँदै पनि राजनीतिक दाउपेचका आधारमा तल्लो तहको शिक्षकलाई निमित्त प्रधानाध्यापकको नाममा जिम्मेवारी दिइएको छ ।

प्राप्त दरबन्दी र राजनीतिक पुर्वाग्रहका कारण विद्यालयमा यस्तो समस्या देखिएको जिल्ला शिक्षा समन्वय ईकाई गुल्मीले बताएको छ ।

पछिल्लो समय विवादमा तानिएका विद्यालयहरु


जिल्लामा सबै भन्दा धेरै विवादमा तानिएको विद्यालय हो, कालीगण्डकी गाउँपालिकाको देउराली माध्यमिक विद्यालय । २०३१ सालमा स्थापना भएको उक्त विद्यालयमा २० वर्षदेखि एउटै व्यक्ति नियमविपरीत प्रधानाध्यापक बनिरहेका छन् ।

विद्यालय प्रावि, निमावि हुँदैं मावि तहको बनिसक्दा पनि नियमविपरित कृष्ण प्रसाद ज्ञवाली प्रधानाध्यापक बनेका छन् । त्यस विद्यालयमा मावि तहका स्थायी शिक्षक रामजी ढकाललाई बाईपास गर्दै राजनीतिक पावरका आधारमा कृष्ण प्रसाद ज्ञवाली गैरकानुनी रुपमा प्रधानाध्यपक बनेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल ढकाललाई यस बारेमा बुझ्दा आँफुलाई प्रधानाध्यापक कृष्ण प्रसाद ज्ञवालीले नटेरेको बताए । आँफुले कानुनी विधिबाट जानुपर्छ भन्दा कसैले नसुनेको गुनासो गरे । उनले भने, ‘म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि अनावश्यक रुपमा खाइँदै आएको भत्ता कटौती गरिएको छ ।’ उनले सार्वजनिक लेखा परिक्षण गर्ने दबाब दिँदा प्रधानाध्यापकले बहुमतको धाक देखाएको बताए ।

यता मावि तहका स्थायी शिक्षक रामजी ढकालले आफुलाई अपमान गरिएको भन्दै दुखेसो पोखेका छन् ।

त्यस्तै यता जिल्लाको घोर्ले माध्यमिक विद्यालयमा पनि नियम विपरित प्रधानाध्यापको जिम्मा दिइएको छ । रेसुंगा नगरपालिका १३ मा रहेको उक्त विद्यालयमा तीन जना माविका स्थायी शिक्षक हुदाँ पनि निमाविका स्थायी शिक्षक हिरासिंह साराकोटीलाई निमित्त प्रधानाध्यापक बनाइएको छ ।

त्यस विद्यालयमा मावि तहका तीन जना शिक्षक केशव पराजुली,फन्त बहादुर बस्नेत र भरत पौडेल स्थायी शिक्षक हुदाँ पनि उनिहरुलाई वेवास्ता गरेर हिरासिंह साराकोटीलाई निमित्त प्रधानाध्यापक बनाइएको हो ।

त्यस्तै, सदरमुकाम तम्घास नजिकै रहेको भगवती माध्यमिक विद्यालयमा पनि माविका स्थायी शिक्षक हुदाँहुँदै पनि प्राविका स्थायी शिक्षकलाई प्रधानाध्यापाक बनाइएको छ । बाहिर खासै विवाद नदेखिएपनि त्यस विद्यालयमा कानुन र योग्यताका आधारमा प्रधानाध्यापक बनेका बोम बहादुर रानाले राजनीति खिचातानीका कारण प्रधानाध्यापकबाट राजिनामा दिइएको बुझिएको छ ।

सोही विद्यालयमा ३० वर्ष अध्यापन गराएका राना ११ वर्ष ६ महिना त्यस विद्यालयले प्रधानाध्यापक बनेका थिए । तर, देश संघियतमा गएसँगै प्रधानाध्यापकमा काम गर्न गाह्रो बनेपछि उनले २०७५ सालमा खेमराज आर्चायलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिँदै आँफु साधारण शिक्षक बनेका थिए ।

यस विषयमा उनको धारणा राख्न खोज्दा रानाले खासै प्रतिक्रिया दिन मानेनन् । तर उनि निकट केही शिक्षकसँग बुझ्दा राजनीतिकै कारण उनले प्रधानाध्यापकबाट राजीनामा दिएको बुझिएको छ । अहिले त्यस विद्यालयमा प्राविका स्थायी शिक्षक घनश्याम पाण्डेले निमित्त प्रधानाध्यापक बनेर विद्यालय चलाइरहेका छन् ।


त्यसैगरी, जिल्लाको मालिका गाउँपालिका ७ घमिरमा रहेको देविस्थान माविमा पनि चार जना माविका स्थायी शिक्षक हुदाँ पनि निमाविका स्थायी शिक्षक खिम बहादुर बुढामगर प्रधानाध्यापक बनेका छन् । खासै विवादित र माविका शिक्षकले कुनै गुनासो नगरेपनि बुढामगर झण्डै दुई वर्ष अघि देखि प्रधानाध्यापक बनेका हुन् ।

सरकारी निकाय र अभिभावकले चासो नदेखाउदाँ पछिल्लो समय गुल्मीका सामुदायकि विद्यालय राजनीति गर्ने अखडा बन्दै जान थालेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्