Logo

कटारीको त्रिवेणी धाममा ५ हजारले मकर नुहाए



Spread the love

१ माघ, उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको पवित्र त्रिवेणी धाममा आज बिहान माघे सङ्क्रान्तिको अवसरमा पाँच हजारभन्दा बढी भक्तजनले मकर नुहाएर पूजा–आराधना गरे ।

कोभिड पुनः तीव्ररुपमा फैलन थालेको भन्दै कटारी नगरपालिका र स्थानीय प्रशासनले त्रिवेणी मेला आयोजनामा रोक लगाए पनि मकर नुहाउन तथा पूजा गर्नका लागि आज बिहान ४ बजेदेखि नै छिमेकी जिल्ला सिरहा, धनुषा तथा सिन्धुली र उदयपुरका भक्तजन भेला भएका स्थानीय समाजसेवी केदार धमलालले बताए ।

बिहानदेखि १० बजेसम्ममा पाँच हजारभन्दा बढी भक्तजन त्रिवेणीमा नुहाएर पूजाआजा गरेको उनको भनाइ थियो । सबैभन्दा धेरै भक्तजन सिरहा र सिन्धुलीबाट आएको कटारी अर्का स्थानीयवासी विष्णुप्रसाद दाहालको भनाइ थियो । दिउसो पनि त्रिवेणी नदी किनारमा ठूलो सङ्ख्यामा भक्तजन आउनेक्रम जारी रहेको छ ।

देशभर कोरोना तीव्ररुपमा फैलिन थालेपछि त्रिवेणीमा प्रत्येक वर्ष लाग्दै आएको १५ दिने मेला यसपटक सञ्चालन नगरिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । उनका अनुसार त्रिवेणीमा दर्शन गर्न र मकर नुहाउन भक्तजन आउने गरेका कारण सामाजिक दूरी कायम गर्दै पूजा आराधना गर्न सुझाव दिइएको थियो ।

प्रदेश नं १ कै महत्वपूर्ण धामका रुपमा यस धामलाई लिइन्छ । विगतका प्रत्येक वर्ष माघे सङ्क्रान्तिका समयमा यो धाममा छिमेकी जिल्ला सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा र बारासहित सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गासहित सुनसरी, मोरङ र झापाबाट समेत ठूलो सङ्ख्यामा भक्तजन मकर नुहाउन आउने गरेको स्थानीय बृद्ध पुण्यप्रसाद ढुङ्गानाले बताए । यसैगरी छिमेकी देश भारतको विहार, जयनगर दरभङ्गा र पश्चिम बङ्गालको दार्जिलिङ, कालिम्पोङ, खरसानसहित स्थानबाट पनि थुप्रै भक्तजन त्रिवेणीमा आउने गरेका थिए ।

माघे सङ्क्रान्तिमा मात्र नभई माघ महिनाभर नै देशरभरिका भक्तजन त्रिवेणी आउने गरेको नगर उपप्रमुख भीमकुमारी राउतले जानकारी दिइन् । कमला नदी र तावा खोलाको सङ्गमस्थलका रुपमा रहेको त्रिवेणी धामको पानीले नुहाउँदा शरीरमा रहेको विभिन्न चर्मरोग निको हुने र पूजा तथा आरधना गर्दा चिताएको पुग्नेसमेत जनविश्वास रहिआएको कटारी बजारका अर्का बृद्ध दुर्गाबहादुर श्रेष्ठले उल्लेख गरे।त्रिवेणीधाममा कमलेश्वर महादेव, शिद्धिगणेश र महालक्ष्मीलगायत अन्य देवी–देवताका मन्दिर छ ।

बाजेबाबुका पालादेखि त्रिवेणी धाममा मकर नुहाएर पूजापाठ गर्ने परम्परागत प्रचलनका कारण प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा यस क्षेत्रका बासिन्दाले मेला भर्ने गरेको रिस्कुकाका दानबहादुर दनुवारको भनाइ थियो ।यसपटक त्रिवेणी मेला आयोजना नभए पनि माघे सङ्क्रान्तिको बिहानैदेखि मकर नुहाउनेको घुइँचो थियो ।

प्रतिक्रिया दिनुहोस्