Logo

चिया कारखानामा आगलागी हुँदा ठूलो क्षति



Spread the love

२ माघ, इलाम । इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्वारा सञ्चालित अन्तु भ्याली टी स्टेटमा आगलागी भएको छ । दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयासमा छ ।

आगलागीबाट ठूलो क्षति भएको छ । पूर्णरूपमा आगलागी नियन्त्रण नभई के–कति क्षति भयो भन्नेबारे जानकारी आएको छैन । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी श्रीअन्तु, सशस्त्र प्रहरी बल बिओपी छब्बसीको टोली तथा स्थानीयवासीको प्रयास जारी छ ।

त्यस्तै सूर्योदय नगरपालिकाको बारुणयन्त्र, इलाम नगरपालिका र झापा मेचीनगरको दमकल प्रयोग भइरहेको छ । विद्युत् सर्ट भएर आगलागी भएको आशङ्का गरिएको छ । आगलागी नियन्त्रणमा खटिनुभएका स्थानीय रुद्र घिमिरेका अनुसार इञ्जिन कोठा, कार्यालय तथा आवास क्षेत्र जलेर नष्ट भएको छ ।

त्यस्तै भित्र रहेको ७० देखि ८० हजार किलो तयारी चियासमेत फ्याक्ट्रीभित्रै रहेको जानकारी आफूले पाएको उनले बताए । आगलागी दिउँसैदेखि भए पनि साँघुरो बाटो भएका कारण दमकल पुग्न समय लागेका कारण पनि ठूलो क्षति भएको स्थानीय रुद्र घिमिरेले बताए । ढिलै गरी पुगेका दमकलले अन्तु पोखरीको पानी ल्याएर आगो नियन्त्रणमा सघाउ पुर्याएको उनको भनाइ छ । आगलागी पूर्णरूपमा नियन्त्रणमा नआए पनि अब भने थप आगो फैलिन नसक्ने अवस्थामा पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्