Logo

स्वास्थ्यकर्मीले बुझाए प्रधानमन्त्री देउवालाई १४ बुँदे ज्ञापनपत्र



Spread the love

काठमाडाैँ । कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन)को सङ्क्रमण बढिरहेका बेला झापाका स्वास्थ्यकर्मीले १४ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई आज ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ झापाका अध्यक्ष भरत खतिवडाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले जिल्ला प्रशासन कार्यालय झापामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

उनीहरुले आमिक्रोन भेरियन्ट समुदायस्तरमै तीव्ररूपमा फैलिइरहेकाले अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र नियमित तथा महामारीसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्न सक्रियताका साथ सरकारी संयन्त्र परिचालन हुनुपर्ने माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बुझाइएको ज्ञापनपत्रमा सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने, सो सुविधा उपलब्ध नगराउने संस्थालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा सङ्क्रमित भएका सबै स्वास्थ्यकर्मीका लागि सुविधायुक्त आइसोलेसनको व्यवस्था गर्नुपर्ने, सङ्क्रमित स्वास्थ्यकर्मीको निःशुल्क उपचार गर्नुपर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीको यथाशीघ्र बीमाको व्यवस्था गरिनुपर्ने उल्लेख छ ।

सङ्घका केन्द्रीय सदस्य डम्मरबल्लभ मिश्रले सरकारले कोभिड–१९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने भनेको जोखिम भत्ता हालसम्म पनि पूरा उपलब्ध नगराएको बताए । उनले भने, “सरकारले दिने भनेको सुविधा तुरुन्त उपलब्ध गराउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्