Logo

सडकको लापरबाहीले गैँडा मर्यो : निकुञ्ज



Spread the love

१० माघ, चितवन । वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैँडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो ।

निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे गैँडा मरेको थियो । गैँडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्किन नसकेर गैँडा मरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गरिएको छ । हालसालै डिभिजन सडक कार्यालय भरतपुरले रुख काट्नका लागि अनुमति लिन पत्र पठाएको छ । सडकले निर्माण पूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । ती दुवै काम नगरीकनै सडक विस्तार थालिएको पाइएको छ । यस्तो कार्य गर्दा निकुञ्जसँग अनुमति र राय लिनुपर्ने हुन्छ ।

आचार्यका अनुसार सहमति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट लिनुपर्ने हुन्छ । निकुञ्जको रायअनुसार विभागले सहमति दिएपछि निकुञ्जले अनुमति दिने गर्दछ । यहाँ निर्माण गर्दा भने निकुञ्जलाई कामको जानकारी नदिएको आचार्यले बताउनुभयो । घटनास्थलको प्रतिवेदन आज पेश भएसँगै अनुसन्धान अधिकृत तोकेर घटनाको अध्ययन सुरु गर्ने उनले जानकारी दिए । निकुञ्जले सडकलाई पत्र पठाउँदै छ । वन क्षेत्रमा नाली किन आवश्यक पर्यो ? सो विषयमा अध्ययन गर्न थालिएको उहाँको भनाई छ । शहरी क्षेत्रको पानी वन क्षेत्रमा पठाउन लागिएको हो वा के हो ? यस विषयमा बुझ्ने उनले बताए ।

उनले भने, “सडकले गर्न नहुने काम गर्यो ।” वातावरणीय प्रभाव हेरेर काम गरेको भए घटना हुनबाट जोगिने निकुञ्जका अधिकारीको भनाइ छ । डिभिजन वन कार्यालय भरतपुरका प्रमुख बाबुराम सापकोटाले निकुञ्जसँग अनुमति लिने र प्रक्रिया पूरा गरे जस्तो आफूलाई नलागेको बताए । उनले भने, “नालाको क्यूरिन (पानीले भिजाउने काम) बाँकी रहेकाले खाल्डो नपुरिएको हो । त्यति नै बेला गैँडा खसेर घटना भयो ।” छिटो पुर्दा संरचना कमजोर हुने भएकाले खाल्डो नै छोडिएको उनको भनाइ छ ।

ठेक्का लगाउँदा पुल्चोकबाट ६ किलोमिटर ८०० मिटर लम्बाइ विस्तार गर्न लागिएकोमा सो ठाउँसम्म सडक पुगेको सापकोटाको भनाइ छ । निर्माण कम्पनी इण्डो सगुन ज्वाईन्ट भेन्चरका सञ्चालक सहदेव खड्काले सडकले ठेक्का दिएअनुसार आफूहरुले काम गरेको बताए । सो ठाउँमा माघ ४ गते निर्माणको काम गरेकाले अझैँ चार दिन पानीले भिजाउनुपर्ने भएकाले खाल्डो नपुरिएको बताए ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले सडकको लापरबाहीको कारण १२ वर्षको भाले गैँडा मरेको बताए । खाल्डोमा भएको रड पेटमा रोपिएर गैँडा उठ्न नसकी मरेको उनको भनाइ छ । पशु अधिकारकर्मीहरुले लापरबाहीपूर्ण तरिकाले गरिने निर्माणका कारण यस्ता घटना समयसमयमा हुने गरेको बताएका छन् । पशु अधिकारकर्मी सुराजन श्रेष्ठले दिगो विकासका लागि प्रक्रिया पुर्याएर काम गर्नुपर्ने भए पनि वन्यजन्तुको ओहोरदोहोर हुने मुख्य वन क्षेत्रको सडकमा निर्माण कार्य गर्दा वन्यजन्तुमैत्री हुनुपर्ने बताए । घटनाको अध्ययन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

वन्यजन्तु ओहोरदोहोर गर्नुपर्ने क्षेत्रमा अण्डरपास (सडक मुनिबाट वन्यजन्तु हिड्ने बाटो) र ओभरपास (सडक माथिबाट वन्यजन्तु हिड्ने बाटो) को व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । निकुञ्जमा साउनयता २१ गैँडा मरेका छन् । जसमध्ये दुई चोरीशिकारीबाट मरेका हुन् भने अन्य प्राकृतिक र मानवीय लापरबाहीका कारण मरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्