Logo

प्राचीन भारतमा इन्टर्नेट आविष्कार भएको दाबी



Spread the love

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीन कालमा भारतीयहरूले इन्टर्नेटको आविष्कार भएको दाबी गरेका छन्।

महाभारतकालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टर्नेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्।

त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भने, “यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले दरबारमै बसेर धृतराष्ट्रलाई युद्धस्थलका दृश्यहरू वर्णन गरेका थिए। यसको अर्थ के हो भने त्यो समयमा पनि प्रविधिको विकास भइसकेको थियो, इन्टर्नेट थियो, भूउपग्रह थियो।”

“नभए सञ्जयले घरमै बसीबसी कसरी हेर्न सक्थे?”

“यो काम तपाईँहरू (पाश्चत्य जगत्) ले पहिले गरेको होइन। यो देशमा लाखौँ वर्ष पहिले इन्टर्नेटको आविष्कार भइसकेको थियो।”

खिल्ली

मुख्यमन्त्री देवको उक्त भनाइको सामाजिक सञ्जालमा खिल्ली उडाइएको छ।

एक जना फेसबुक प्रयोगकर्ताले देवको भनाइ ‘यो शताब्दीकै सबैभन्दा ठूलो ब्रेकिङ न्यूज’ भएको भनेका छन्।

भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष देव गत महिना त्रिपुराका मुख्यमन्त्री बनेका थिए।

पच्चीस वर्षदेखि रहेको वाम सरकारको अन्त्य गराउँदै भारतीय जनता पार्टीले त्यहाँ सरकार बनाएको थियो।

अर्को प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्, “महाभारतकालमा इन्टर्नेट थियो। यो कुराको पुष्टि त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले गरेका छन्।” बिबिसी नेपाली

प्रतिक्रिया दिनुहोस्