Logo

सल्यान अस्पतालको बिजोग, फर्काइए बिरामी



Spread the love

१७ फागुन, सल्यान । कुनै बेला गुणस्तरीय सेवा प्रदान गर्ने भनेर चर्चा कमाएको सल्यान अस्पताल आफैँ बिरामी परेर थला परेको छ । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नभएपछि बिरामी उपचार नहुने भन्दै अन्यत्र सिफारिस गर्न थालिएको छ ।

जिल्ला अस्पतालमा आठ चिकित्सकको दरबन्दीमा भए पनि एक जनामात्रै कार्यरत भएपछि अस्पतालमा आउने बिरामीलाई उपचार नगरी सिफारिस गर्न थालिएको हो । उपचार नहुने भएपछि बिरामी अस्पतालबाटै फर्कन बाध्य भएका छन् । प्रसूति हुने समयभन्दा एक हप्ता ढिलो भएपछि बागचौर नगरपालिका–१२ का सुशीलाकुमारी वलीलाई अस्पतालले अन्यत्र जान सल्लाह दिएको छ ।

सुत्केरी हुँदा शल्यक्रियासम्म गर्नुपर्ने अवस्था आउने र अस्पतालमा शल्यक्रिया सेवा प्रवाह गर्न नसकिने भएकाले उनलाई समयमै आफ्नो व्यवस्था गर्न भनिएको अस्पतालले जनाएको छ । अस्पतालबाटै फर्काइदिएपछि वली समस्यामा परेका छन् । “घरबाट आउँदा सल्यान अस्पतालमा उपचार खर्च लाग्दैन भनेर थोरै पैसा लिएर आयाैँ, अब यहाँ नहुने भएपछि कहाँ जाने फेरि समय पनि नाघेको छ”, सुशीलाले भने ।

अस्पतालमा कार्यरत एक चिकित्सकको सरुवा भएको, दुई अध्ययन बिदाका लागि गएको तथा एक जना तालिममा गएपछि अस्पतालका सबै सेवा प्राभावित भएको अस्पतालले जनाएको छ । चिकित्सक नै नभएपछि अस्पतालले बिरामी भर्ना लिनसमेत छाडेको छ भने आकस्मिक कक्ष तथा वार्डमा बिरामी भर्ना नगरिएको स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख श्लोचना महर्जनले जानकारी दिए ।

अस्पतालको अवस्थाका बारेमा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी गराइसकिएको भए पनि कुनै प्रतिक्रिया नआएको महर्जनले जानकारी दिए । “जनशक्तिकै कारण अहिले अस्पतालमा बिरामी भर्ना लिन सक्ने अवस्था छैन, एक जना चिकित्सकले कति ठाउँमा भ्याउनुहुन्छ, गएकाहरूको पनि आउने टुङ्गो नभएपछि झन् समस्या भएको छ”, महर्जनले भने ।

केही समय अगाडिसम्म अस्पतालमा शल्यक्रियासमेत हुँदै आएको तर अस्पतालमा चिकित्सक नै नभएपछि अस्पतालमा सेवा प्रभावित भएको छ । यसैबीच अस्पतालमा प्रसूति हुन आएकी १९ वर्षीय महिला र शिशुको समेत अस्पतालमा मृत्यु भएको छ । बेहोस भएर आएकी महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख महर्जनले जानकारी दिए ।

अस्पतालमा बिरामीको ओपिडी तथा वार्डमा एउटै चिकित्सकले धान्न नसक्ने भएकाले नयाँ भर्ना लिन नसकेको सल्यान अस्पताल सल्यानका डा अभिषेक सिंहले बताए । “एउटा चिकित्सकले सबै ठाउँमा हेर्नसक्ने सम्भावना छैन, शल्यक्रिया गर्न कम्तीमा चार जना चिकित्सक चाहिन्छ, म एक्लैले के गर्नु त्यही भएर तत्काल यहाँ भर्ना गरेर उपचार गर्न सम्भव छैन, त्यसैले बिरामीलाई अन्यत्र सिफारिस गर्दैै आएका छौँ”, डा सिंहले भने । जनशक्तिको अभावकै कारण एकैदिन अस्पतालमा प्रसूति सेवा लिन आएका ५२ महिलालाई एकै दिन अन्यत्र सिफारिस गरेको छ ।

अस्पतालमा आएका बिरामी चिकित्सक नभएपछि अस्पताल परिसरमा घुमिरहेका थिए । स्वास्थ्य परीक्षणका लागि आएका सेवाग्राही चिकित्सक नभएपछि फर्किन बाध्य भएका छन् । अस्पतालमा बिरामी सिफारिस गर्न थालेपछि कर्मचारी पनि फुर्सदिला भएर घाम तापेर बसेको भेटिए । बिरामी नै नआएपछि अस्पताल परिसरसमेत सुनसान देखिन थालेको छ ।

अस्पतालमा हालसम्म दरबन्दीअनुसारका चिकित्सक नभएका कारण सेवा प्राभिवत भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सिपी ओलीले जानकारी दिए । “अस्पताल राम्रो र गुणस्तरीय बनाउनका लागि प्रयास गरिरहेका छौँ, तर सबै कुरा हाम्रो हातमा छैन”, अध्यक्ष ओलीले भन्नुभयो । राम्रो गर्न खोजेर पनि आफ्नो हातमा सबै नभएपछि केही गर्न नसकिएको उनको भनाइ छ । “हामीले अस्पतालमा अस्पतालको स्रोतबाट भर्ना गरिएका कर्मचारीहरूका सन्दर्भमा बाहेक अरु केही अधिकार छैन, अनि हामीले के गर्न सक्छौँ”, अध्यक्ष ओलीले भने । आफूले अस्पतालको सेवा सुधारका लागि प्रयास गरेको भए पनि एक्लै चाहेर पनि केही नहुने उनको भनाइ थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सल्यानले कार्यालय अनुगमनका क्रममा सबैभन्दा बढी सल्यान अस्पताला कार्यरत कर्मचारी अनुपस्थित भएको भेटिएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार अस्पतालमा ३६ कर्मचारी अनुपस्थित भएको भेटिएको र उनीहरूलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्