Logo

चितवन राष्ट्रिय निकुञ्जमा जन्मियो अर्को छावा



Spread the love

२० फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत लामीचौरमा पुनः अर्काे छावा जन्मिएको छ । चितवनकली नामक हात्तीले भाले छावालाई जन्म दिएको हो । विगत एक महिनामा योसहित चार छावा निकुञ्जमा जन्मिएका छन् ।

दुई महिनाअघि हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहाबाट गर्भवती नभएको भन्दै कामका लागि लामीचौर पठाइएको हात्तीले बच्चा जन्माएपछि हात्तीसारका कर्मचारी खुसी भएका छन् ।

गत माघ १९ देखि फागुन १९ गतेसम्म चार हात्तीले बच्चा जन्माएका हुन् । वैशाखयता यो सङ्ख्या पाँच पुगेको छ । केन्द्रका प्रमुख मनपुरन चौधरीका अनुसार माघ १९ गते तीर्थमान कलीले जन्माएको बच्चालाई रामसारकली नामाकरण गरिएको छ । माघ २९ गते हिमालीकलीले जन्माएको बच्चालाई भद्रगज नामकरण गरिएको छ । यस्तै फागुन १७ गते डम्बरकलीले भाले बच्चा जन्माएको भए पनि नामकरण गरिसकिएको छैन । कली पोथी हो भने गज भाले हो । २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउने गर्दछ । यसअघि गत वैशाखमा एउटा बच्चा जन्मिएको थियो । तीन–चार महिनाभित्रमा लोकतन्त्रकली र ऐश्वर्यकलीले बच्चा जन्माउने चौधरीले बताए ।

प्रजनन केन्द्रमा जङ्गली हात्तीबाट प्रजनन हुने गरेको छ । केन्द्रमा अधिकांश समय रोनाल्डो रहेकाले यी बच्चा रोनाल्डोका नै भएको चौधरीको भनाइ छ । यद्यपि ध्रुवे र गोविन्दे नामका जङ्गली हात्ती पनि समय–समयमा सङ्सर्गका लागि केन्द्रमा आउने गर्दछन् । निकुञ्जमा हाल ५८ हात्ती छन् । तीमध्ये छवटा कोसीटप्पु राष्ट्रिय निकुञ्जका दरबन्दीका हात्ती हुन् । प्रजनन केन्द्रमा मात्रै हाल ११ माउ र १३ छावा गरी २४ हात्ती छन् ।

निकुञ्जको सुरक्षार्थ हात्ती प्रयोग गर्ने गरिन्छ । अन्य सवारीसाधन जान नसक्ने ठाउँमा समेत हात्ती जान सक्ने भएकाले निकुञ्ज सुरक्षामा हात्तीको विशेष भूमिका हुने गर्दछ । बाघ, गैँडालगायतका अन्य जङ्गली जनावर नियन्त्रणमा लिनुपर्दा समेत हात्तीको प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्