Logo

कर्णालीका मुख्यमन्त्री शाही र प्राधिकरणका निर्देशक घिसिङबीच भेटवार्ता



Spread the love

२८ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच आज भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा कर्णालीमा विद्युत् प्रसारण लाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको छ ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत् उत्पादनको सम्भावना धेरै भए पनि हाल आठ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको बताए । उनले अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीवासीले विद्युत्को ठूलो समस्या भोगिरहेको बताए । शाहीले १३२ केभी प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न आग्रह गरे । उनले जनसङ्ख्यालाई हेरेर योजना बन्ने गरेको बताउँदै त्यो कर्णालीका लागि अन्याय हुने बताए ।

निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारण लाइन पुर्याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाट समेत ३३–३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया सुरु गरिएको बताए । यस्तै उनले कर्णालीका साविकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्