Logo

काबुलमा छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन



Spread the love

१२ चैत, एजेन्सी । अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन् ।

विद्यालयमा पढ्न, पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने प्रदर्शनकारी महिलाहरूको माग छ ।

अफगानिस्तानमा तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि महिलाहरूलाई अध्ययन अध्यापन तथा रोजगारीलगायतका कार्यमा सहभागी हुन नपाउने घोषणा गरेको थियो ।

सरकारको सो घोषणाप्रति विश्वभरबाट आलोचना भएको थियो भने महिलालाई अध्ययन अध्यापन र रोजगारीमा बञ्चित गर्ने निर्णय सच्याउन दवाव परेको थियो । तर तालिवानी उच्च अधिकारीहरूले भने त्यतिबेला देखि नै केही समयका लागि मात्रै यस्तो व्यवस्था गरिएको र चाडै नै महिलाहरूलाई पनि अध्ययन अध्यापन गर्न दिइने प्रतिवद्धता जनाउदै आएका थिए । प्रतिवद्धता अनुसार तालिवान सरकारले गत हप्तादेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय खुला हुनुभन्दा केही घण्टा अगाडि सरकारले निर्णय उल्ट्याउदै अहिलेसम्म पनि छात्रालाई विद्यालय जान नपाइने व्यवस्था कायमै राखेको छ ।

यही २३ मार्च देखि छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुशी भएका महिला तथा अधिकारवादी सबै अहिले फेरि निराश भएका छन् । तालिवानी अधिकारीहरूको तत्कालीन प्रतिवद्धताका आधारमा कतिपय मुलुक अफगानिस्तान प्रति नरम पनि बन्दै गएका थिए । तर अहिले विद्यालयमा छात्रालाई जान दिने निर्णय कार्यान्वयन नगरेपछि भने विश्वभरबाट चिन्ता र चासो व्यक्त भएको छ ।

विद्यालय जान पाउनु आफूहरूको आधारभूत मानवअधिकार भएकाले यसलाई राजनीतिक रुपमा लिन नहुने प्रदर्शनकारीहरूको भनाई छ ।

हामीलाई विद्यालय जान दे, हामीलाई न्याय दे जस्ता माग राख्दै प्रदर्शनकारीहरूले काबुलमा परेको प्रदर्शनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले निकै महत्व दिएका छन् । उनीहरूको आन्दोलनप्रति अधिकारवादी संघ संस्था तथा निकायहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्