Logo

वैशाखसम्म मेलम्चीको पानी काठमाडौँमा आउँछ : मन्त्री चौधरी



Spread the love

२९ चैत, काठमाडाैँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले नयाँ वर्षको वैशाखसम्ममा काठमाडौँको धारामा पानी पुग्ने बताएका छन् । मन्त्री चौधरीले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकोमा खुसी व्यक्त गर्दै सरोकारवालामा आभार प्रकट गरे ।

आज मेलम्ची नदीको पानी पुनः पथान्तरण उद्घाटन गर्दै मन्त्री चौधरीले सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना, त्याग, तपस्याको स्मरण गरे । उनले स्थायीरूपमा पानी पठाउन एसियाली विकास बैंकको टोलीले गरेको भौगर्भिक अध्ययनको रिपोट प्रतिवेदन पेस भएपछि कार्ययोजना बनाइने बताए । मन्त्री चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरे । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

सोही अवसरमा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै खानेपानीमन्त्री उमाकान्त चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाए ।

एघार बुँदे ज्ञापनपत्र बुझाउँदै अध्यक्ष शेर्पाले हेलम्बुका बाढीपीडितलाई सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रतिपरिवार पाँच लाख तोकिएकामा उक्त रकम बढाएर प्रतिपरिवार कम्तीमा रु १५ देखि २० लाख रकम उपलब्ध गराउने व्यवस्था मिलाइदिन अनुरोध गरे ।

उनले मेलम्चीको पानी काठमाडौँ लगेबापत रोयल्टीको र बिक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँटबापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाका लागि ठोस पहल गर्न आग्रह गरे ।

सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पुर्याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्न सक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मेलम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो । सुरुङमा प्रतिसेकेण्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, मन्त्रालयका सहसचिव तिरेसप्रसाद तिवारी, प्रमुख जिल्ला अधिकारी बेद निधि खनाल, गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्