Logo

सुरू भयो एसइई, जापानमा पनि परीक्षा केन्द्र



Spread the love

९ वैशाख, काठमाडाैँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा गरेसँगै एसइई सुरू भएको हो ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन भएको छ ।

एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए । उनले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

त्यस्तै, यस पालिको एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ । यस वर्षको एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने भएको अध्यक्ष शर्माले जानकारी दिए । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्