Logo

नेपाली कांग्रेसको सङ्कल्प सार्वजनिक, नगर्ने काम नभन्ने



Spread the love

११ वैशाख, काठमाडाैँ । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वका एक कार्यदल नै बनाएर घोषणापत्र तयारीको काम गरेको थियो ।

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा धनराज गुरुङ, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालगायतले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गर्नुभएको हो । कांग्रेसले २०७४ सालदेखिको सरकारको काम कारवाहीको समीक्षासमेत गरेको छ ।

पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड तथा जनप्रतिनिधिको उत्तरदायित्वलाई पूर्णरुपमा आत्मसात् गर्दै आफ्ना पार्टीका तर्फबाट स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यले गर्ने केही महत्वपूर्ण कामका बारेमा समेत ‘कांग्रेसको सङ्कल्प’मा समेटिएको छ ।

जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन गर्न नदिने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर आज उक्त सङ्कल्प सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ । निर्वाचन आयोगले उम्मेदवार मनोनयन आजदेखि नै सुरु गरेको छ । सत्तागठबन्धनको नेतृत्वकर्ता कांग्रेसललगायतका दलले एकापसमा मिलेर निर्वाचनमा जाने सहमति गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्