Logo

सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहीन अमिटलाई सरकारद्वारा सहयोग



Spread the love

१४ वैशाख, काठमाडाैं । सरकारले सगरमाथा आरोहण गर्न लागेका फरक क्षमता भएका (दृष्टिविहीन) अमिट केसीलाई रोयल्टी मिनाहा गर्दै थप १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम बागलुङ जैमिनी नगरपालिका–४ निवासी केसीलाई रोयल्टी छुट तथा आर्थिक सहयोग गरिएको हो । मन्त्रिपरिषद्को गत चैत २४ गतेको बैठकले केसीले बुझाउनुपर्ने रोयल्टीबापतको रकम मिनाहा गरी थप रु १० लाख आर्थिक सहयोग गर्ने निर्गण गरेको पर्यटन मन्त्रालयले जनाएको छ । सोही निर्णयअनुरूप रोयल्टी छुट तथा आर्थिक सहयोग गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

सगरमाथा आरोहण गर्न लागेका केसीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले बुधवार मन्त्रालयमा बिदाइ गरे । उनले केसीको साहसिक कामको सराहना गर्दै रोहण सफलताको शुभकामना व्यक्त गरे ।

सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने लक्ष्यका साथ केसीले पर्यटन विभागबाट आरोहण अनुमति लिइसकेका छन् । केसीले आफ्नो परिवारको भरणपोषणका लागि खाइपाइ आएको प्राथमिक विद्यालय दृष्टिविहीन राहत दरबन्दीसमेत त्यागेर नेपालको पहिलो र संसारको दोस्रो दृष्टिविहीन व्यक्तिको रुपमा सर्वोच्च शिखर आरोहण गर्ने प्रयासमा रहेको बताए ।


सोलुखुम्बुको ६,१८६ मिटर उचाइको आइसल्याण्ड पिक, ६,६५४ मिटरको मेरापिक र ६,११९ मिटर उचाइको लोबुचे पिकको समेत सफलतापूर्वक आरोहण गर्ने पहिलो दृष्टिविहीन आरोही बनेका थिए ।

केसी सगरमाथा आरोहण गर्न सफल भए नेपालकै पहिलो, विश्वकै चौथो र एसियाकै दोस्रो दृष्टिविहीन आरोही बन्ने जनाइएको छ । केसीले सन् २०१७ मा पनि सगरमाथाको आरोहणकाे प्रयास गरेका थिए । त्यतिबेला अक्सिजन सकिएका कारण आठ हजार मिटर आरोहणबाट फर्किनुपरेको थियो । केसीले ‘दृष्टिविहीन अमिट केसी सगरमाथा आरोहण अभियान २०७८/७९’ नाममा आरोहणमा गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्