Logo

स्थानीय निर्वाचन : भोट माग्दै घरदैलोमा उम्मेदवार



Spread the love

१५ वैशाख, सुर्खेत । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।

राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । यहाँको भीमदत्त नगरपालिकामा नेकपा (एमाले)बाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका महेशप्रसाद पन्त र उपप्रमुख पदका उम्मेदवार भुवन केसीले पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान सुरु गरिसकेका छन् ।

त्यसैगरी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुखको साझा उम्मेदवार बनेका राजेन्द्र पाण्डेय र उपप्रमुख कृष्णदत्त जोशीले पनि टोलस्तरसम्म पुगेर भोट मागिरहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले भीमदत्त नगरपालिका–१ स्थित रौटेला मन्दिर छेउबाट घरदैलो कार्यक्रम अभियान शुभारम्भ गर्दैछ । “बिहानदेखि सुरु हुने घरदैलो अभियानमा नगरप्रमुख, उपप्रमुखका साथै केन्द्रीय सदस्यद्वय रमेश लेखक र यज्ञराज जोशीसहितको टिम सहभागी हुनेछ ।” नेपाली कांग्रेस भीमदत्त नगरसचिव राहुल भट्टले भने, “यहाँ वडा वडामा सम्र्पक कार्यालय र चुनावी गतिविधि सुरु भइसकेका छन् ।” उनले घरदैलो तथा चुनावी कार्यक्रममा केन्द्रीय नेताको पनि उपस्थिति रहने बताए ।

त्यसैगरी यहाँका अन्य स्थानीय तहलमा पनि नेताले घरदैलो अभियान सुरु गरेका छन् । यहाँको बेलौरी नगरपालिका, पुर्नवास नगरपालिकालगायतका पालिका पालिकामा समेत घरदैलो अभियान सुरु गरेका छन् । नेकपा एमाले बेलौरीका नगर उपाध्यक्ष महेश्वरी खत्रीले पार्टीका उम्मेदवारसहित आफूहरु घरदैलो अभियानमा खटिसकेको जानकारी दिए ।

“पहिलोपटक बेलौरीमा हामीले शिक्षित महिलालाई नगर प्रमुखको उम्मेदवार बनाएका छौँ ।” उपाध्यक्ष खत्रीले भने, “यहाँका दशवटै घरदैलो अभियान सुरु भएको छ ।” पार्टीहरु विभिन्न चुनावी एजेण्डा लिएर घरदैलो अभियानका जानुका साथै आवश्यक रणनीति बनाउन दिनहुँजसो पार्टीमा छलफल गरिरहेको उनको भनाइ छ ।

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्र र समाजवादी पार्टीका नगरप्रमुख उम्मेदवार नवराज ऐरले दुई दिनदेखि चुनावी घरदैलो अभियान गरेका छन् । “१६ गतेपछि निर्वाचन प्रचारका ठूला कार्यक्रम सुरु हुन्छन् ।” उनले भने, “अहिले मतदातासित भेटघाट कार्यक्रम चलिरहेको छ ।”

नौवटै पालिकामा रहेका कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्षका लागि ७३ जनाले उम्मेदवारी परेको छ । भीमदत्तमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी १४ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी यहाँको दोधारा चाँदनी नगरपालिकामा आठ जनाले नगरप्रमुखमा आफ्नो उम्मेदवार दर्ता गराएका छन् । त्यसैगरी यहाँको बेदकोट नगरपालिकामा पनि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरेर ११ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा नगरप्रमुखका लागि आठ जनाको उम्मेदवार छन् । त्यस्तै, यहाँको कृष्णपुर नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवार छन् ।

त्यसैगरी यहाँको बेलौरी नगरपालिकामा छ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएको निर्वाचन कार्यालयको भनाइ छ ।

त्यसैगरी यहाँको पुर्नबास नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रिएका छन् । यहाँको लालझाडी गाउँपालिकामा छ र बेल्डाडी गाउँपालिकामा छ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र राखिएका छन् भने यहाँको कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्