Logo

मृत भेटिएका व्यक्तिको हत्या भएको खुलासा



Spread the love

२० वैशाख, काठमाडाैँ । काठमाडौँको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार यही वैशाख २ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २५ वर्षीय नरेश गौतम मृत भेटिएका थिए ।

अनुसन्धानका क्रममा उनलाई केही व्यक्तिले कुटपिट गरी हत्या गरेको खुलेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार फरार व्यक्ति खोजतलास गर्ने क्रममा हत्या आरोपीत दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ घर भइ काठमाडौँको बनस्थली बन्दै आएका राजेश सुनार र सिन्धुलीको दुधौली घर भई काठमाडौँको नागर्जुन बस्ने प्रकाश तिमिल्सिना रहेका छन् । तिमिल्सिनालाई गोरखा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा काठमाडौँ जिलाल अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ । उक्त घटना शंकास्पद देखिएपछि प्रहरी वृत्त स्वयम्भूसहित, जिल्ला प्रहरी परिसर, काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयका साथै महाराजगञ्जस्थित शिक्षण अस्पतालको फरेन्सिक विभागका चिकित्सकको टोलीले घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानमा तालिमप्राप्त कुकुरसमेतको परिचालन गरिएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्