Logo

मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध



Spread the love

२४ वैशाख, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले निर्वाचन अवधिभर साँझ ८ बजेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले राजनीतिक दलसहितको सर्वपक्षीय छलफलपछि मदिरामा कडाइ गर्ने निर्णय गरेको हो ।

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको राकमस्थित रिमझिम चोकमा विहीबार राति झडप भएपछि जिल्ला प्रशासनले आज दलहरुलाई छलफलका लागि बोलाएको थियो । छलफलमा सुरक्षा निकायका प्रमुखका साथै जिल्लास्थित सबै दलका प्रमुख÷प्रतिनिधिहरुको उपस्थिति रहेको प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निर्वाचन प्रचार–प्रसारका बेला मदिराजन्य पदार्थ सेवन गरी दलका कार्यकर्ताद्वारा हिंसात्मक क्रियाकलाप हुन सक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको जानकारी दिए । सर्वपक्षीय बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन, निषेधित समयमा मदिराको कारोबार तथा सेवन नगर्न जिल्लाबासीमा अपिल गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ “आम सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी कोही कसैप्रति लक्षित गरी गालीगलौज गर्ने, अफवाह फैलाउने, निर्वाचनविरोधी सन्देश प्रवाह गर्नेजस्ता अवाञ्छित गतिविधिहरु नगर्न÷नगराउन र प्रचलित कानून एवं निर्वाचन आचारसंहिता विपरीत कुनै गतिविधि भएमा कानूनी कारबाही गर्न सचेत गराइन्छ ।”

प्रतिक्रिया दिनुहोस्