Logo

बर्थिङ सेन्टरमा ताला लगाएर स्वास्थ्यकर्मी निर्वाचनमा खटाइए



Spread the love

२८ वैशाख, सुर्खेत । स्थानीय तह निर्वाचनका लागि स्वास्थ्यकर्मीसमेत मतदान केन्द्रमा खटाएपछि भेरीगङ्गाका बर्थिङ सेन्टरहरू खाली भएका छन् । निर्वाचनको अवधिमा कुनै गर्भवतीको केश आएमा सेवा रोकिने अवस्था छ । निर्वाचन समयमा कुनै गर्भवती केश आएमा प्रसूति सेवा दिन नसक्ने अवस्थासमेत आएको छ । चौबीस घण्टा सेवा दिनुपर्ने इमर्जेन्सी सेवामा पर्ने बर्थिङ सेन्टर खाली हुँदा यसले सुत्केरी अवस्थाका आमाहरुका लागि जोखिम बढाएको छ ।

भेरीगङ्गा नगरको मोहटी, छिन्चु, रामघाट, लेखपराजुल र मैनतडामा प्रसूति सेवा दिने बर्थिङ सेन्टर रहेका छन् । अहिले नगरपालिकाका चारवटै बर्थिङ सेन्टर खाली रहेको नगरका स्वास्थ्य शाखा प्रमुख राजेश बुढाले जानकारी दिए । “निर्वाचनमा स्वास्थ्यकर्मीको साथै सरसफाइकर्मीलाई पनि खटाइएको छ, त्यसैले बथिङ सेन्टर अहिले खाली छन्”, उनले प्रश्न गरे, “सुत्केरी आमा आए कहाँ पठाउने मुख्य निर्वाचन अधिकृतकहाँ ?” यतिसम्मकी यहाँका एम्बुलेन्सका ड्राइभरलाई पनि निर्वाचनमा खटाइएको छ ।

सुर्खेतमा अन्य कर्मचारी प्रसस्तै हुँदाहुँदै पनि भनसुन र पहुँचकै भरमा मुख्य निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यले स्वास्थ्य संस्थाने खाली रहने गरेर कर्मचारी खटाएको उनले बताए । “अहिले मैनतडा बर्थिङ सेन्टरमा एक जना स्वास्थ्यकर्मी हुनुहुन्छ अरु सबैमा ताला लागेको छ”, उनले भने, “भएको एक जनाले पनि धेरै बिरामी आए नियन्त्रण गर्नसक्ने अवस्था नै छैन ।” बर्थिङ सेन्टरका कर्मचारी खाली हुने गरी मतदान केन्द्रमा खटाउनु जोखिम निम्ताउनु र सुत्केरी आमाहरूका लागि दुर्घटनाको कारण बन्न सक्ने बुढाले जानकारी दिए ।

भेरीगङ्गा नगरपालिका बाक्लो बस्ती भएको क्षेत्र भएकाले दैनिक कम्तीमा तीन चार जनाले सेवा लिने गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताए । मुख्य निर्वाचन कार्यालयले भेरीगङ्गा नगरका सबै आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी र बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी र कर्मचारी मतदान केन्द्रमा खटाएको छ । अहिले बर्थिङ सेन्टरमा ताला लगाएर कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । आफूले सो विषयमा सरोकार निकायमा जानकारी गराए पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

यता कर्मचारी सङ्गठनले कर्मचारी हुँदाहुँदै भनसुन र पहुँचकै भरमा अन्यलाई निर्वाचनमा परिचालन गरिएको आरोप लगाएका छन् । यता निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले निर्वाचनमा स्वास्थ्यकर्मी कम खटाउने भन्ने रहेको बताए । स्थानीय तहका कर्मचारीलाई खटाउने भएका कारण उनीहरूले पठाएको कर्मचारीको लिस्टको आधारमा राखिएको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्