Logo

भोट हाल्न जाँदा आमा र गर्भवती श्रीमती गुमाए



Spread the love

३१ वैशाख, स्याङ्जा । जन्मदिने आमा र गर्भवती श्रीमती गुमाएका अर्जुन कुँवर यतिखेर विक्षिप्त छन् । ३१ वर्षीय अर्जुन दुःख भुलाउन गण्डकी मेडिकल कलेज पोखराको बेडमा उपचार गराइरहेका आफ्ना तीन वर्षीय छोरा अनिशको मुख हेरिहन्छन् । तर, अबोध बालकमा पनि उस्तै दुःखको पहिरो छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ थुमपोखराका अर्जुन तिनै व्यक्ति हुन्, जसले स्थानीय तह निर्वाचनमा मतदाता बोकेको जिप दुर्घटनामा परिवारका सदस्य, आफन्त गरी पाँच जना गुमाएका छन् ।

उनका २५ वर्षीया दुई जिउकी श्रीमती धनमाया कुँवर (जमुना) साथमा पेटको बच्चा, ५३ वर्षीया आमा तोपकुमारी कुँवर, कान्छी आमा (काकी) ५० वर्षीया टेककला कुँवर र मावली हजुरआमा ९० वर्षीया हरिकला कुँवर गुमाएका हुन् ।

‘सरकारका लागि भोट हाल्न भनेर जान लाग्दा यस्तो दुर्दशा देख्नुपर्‍यो,’ अर्जुनका गहभरी आँसु भरिए, ‘नसोचेको भयो । धन्न जेठो छोरा जिउँदो छ ।’ आमासँगै जिप चढेर वालिङ १४, सिख्रेबाट तिवारी पसलस्थित मतदान केन्द्रमा जान लागेका अर्जुनका तीन वर्षीय छोरा अनिशको शरीरभरि चोट लागेको छ । टाउकाको सिटी स्क्यान गरिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्