Logo

गुल्मीको मालिकामा पाँच दलीय गठबन्धनको ‘क्लिन स्विप’



Spread the love

४ जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा पाँच दलीय गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ । नेकपा एमालेविरुद्ध कांग्रेस, माओवादी, समाजवादी सहितका दलहरुले चुनावी गठबन्धन गरेका थिए । वैशाख ३० मा सम्पन्न निर्वाचनमा गठबन्धनका दलहरुले पूर्ण सफलता पाएसँगै गठबन्धनले ‘क्लिन स्विप’ गरेको हो ।

गठबन्धनबाट माओवादी केन्द्रका देविराम अर्याल छ हजार १७६ मतसँगै पालिका अध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका रितबहादुर थापाले चार हजार ६१७ मत प्राप्त गरे । अर्यालले थापालाई एक हजार ५५९ मतान्तरले पराजित गरे । थापा पालिकाका निवर्तमान अध्यक्षसमेत हुन् ।

पालिका उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उपेन्द्र अर्याल छ हजार ३३४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेकी रनमाया पुनले चार हजार ६९२ मत प्राप्त गरिन् । अर्यालले पुनलाई एक हजार ६४२ मतले पराजित गरे ।

विसं २०७४ को निर्वाचनमा मालिकामा त्रिपक्षीय निर्वाचन भएको थियो । सो बेला चार हजार ४२ मतसहित एमालेका रितबहादुर अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्