Logo

गोकुल बास्कोटाको गृहनगरमा एकीकृत समाजवादी र नेपाली कांग्रेस विजयी



Spread the love

६ जेठ, काभ्रे । स्थानीय तह निर्वाचन २०७९ को मतगणनाको परिणामअनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका प्रमुख र उपप्रमुख दुवै विजयी भएका छन् ।

आज सम्पन्न मतगणनाको परिणामअनुसार प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी)का टोकबहादुर वाइबा र उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल विजयी भएका हुन् ।

गठबन्धन दलका प्रमुख पदको उम्मेदवार वाइबाले नौ हजार ४०६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विदुरप्रसाद सापकोटाले आठ हजार ३५१ मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धन दलका उपप्रमुखका कांग्रेसका नेपालले ११ हजार ३०५ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरिता ढकालले छ हजार ९२४ मत प्राप्त गरेकी छन् ।

नगरपालिकाको वडा नं १ को अध्यक्षमा नेकपा एमालेका शिवप्रसाद ढकालले ६२० मत प्राप्त गरी विजयी भएका छन् भने वडा नं २ मा नेपाली कांग्रेसका राजकुमार मल्लले ५०३ मत, वडा नं ३ मा कांग्रेसकै पुरुषोत्तम बजगार्इंले ६८८ मत, वडा नं ४ मा एमालेका मैते सिं तामाङले ६२३ मत, वडा नं ५ मा एमालेकै हर्कबहादुर लामाले ७०५ मत र वडा नं ६ मा कांग्रेसका सोमप्रसाद ढकालले ८०१ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी वडा नं ७ मा एमालेका विष्णुप्रसाद पौडेलले ६७८ मत, वडा नं ८ मा नेकपा (माओवादी केन्द्र)का निरञ्जन विष्टले ५८२ मत, वडा नं ९ मा कांग्रेसका सीताराम श्रेष्ठले एक हजार १९ मत, वडा नं १० मा कांग्रेसकै कुमार तामाङले एक हजार ४७ मत, वडा नं ११ मा कांग्रेसकै दीपेन्द्र लामा तामाङले ६४३ मत र वडा नं १२ मा पनि कांग्रेसकै राजकुमार पराजुलीले ७१५ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्