Logo

मूल्यबृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष ध्यानाकर्षण



Spread the love

१० जेठ, काठमाडाैँ । १५ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आज मन्त्रालयमा भेटि ती विद्यार्थी सङ्गठनले ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोलिय पदार्थ र ग्यासमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

मन्त्री बडुले अहिले नै मूल्यबृद्धि फिर्ता गर्नका लागि केही भन्न नसक्ने र मूल्यबृद्धिका सम्बन्धमा आज छलफल गरिने बताउनुभएको बैज्ञानिक समाजवादी विद्याथी सङ्गठनका अध्यक्ष राजेश्वरी सुवेदीले जानकारी दिइन् । विद्यार्थी सङ्गठनले मन्त्रालय र संयुक्त विद्यार्थी सङगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरुलाई सहुलियतको मागसमेत गरेका छन् ।

यस्तै विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाईएको अत्याधिक कर बारे पुनर्विचार गर्नुपर्ने, बैकल्पिक उर्जाको खोज अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरी काम गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्न माग गरेका छन् ।

पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गर्न कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई निजिकरण गर्ने विषयमा गम्भीरतापूर्वक सोच्नसमेत आग्रह गरेका छन् ।

यस्तै विद्याथी सङ्गठनले भोलि जेठ ११ गते पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ताको माग गर्दै नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

आयल निगमले गत बैशाख ३१ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डरमा रु २०० वृद्धि गरेको थियो ।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौं), सजाजवादी विद्यार्थी युनियनलगायतका १५ विद्यार्थी सङ्गठनले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

यसैबीच नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घले पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा आज दिउँसो माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ । साथै, विभिन्न सङ्घसंस्थाले पनि मूल्य बृद्धिको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्