Logo

लुकेर बसेको अवस्थामा पूर्व डिआइजी रञ्जन कोइराला पक्राउ



Spread the love

१४ जेठ, काठमाडाैँ । श्रीमती हत्यामा दोषी ठहर भई जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला आज काठमाडौँको बानेश्वरबाट पक्राउ परेका छन् ।

कानूनी परामर्श गरिहेको अवस्थामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार दुई दिन बिदा रहेकाले फैसला कार्यान्वयनका लागि सोमबार उनलाई अदालतमा पेस गरिनेछ । बिहीबार मात्रै सर्वाेच्च अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे आठ वर्ष जेल सजाय बसेमा मक्सद पूरा हुने फैसला गरेपछि विसं २०७७ मा कोइराला जेलबाट छुटेका थिए ।

उक्त आदेश उल्ट्याउँदै कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टङ्क मोक्तान र डा कुमार चुडालको इजलासले बिहीबार जन्मकैद (२० वर्ष कैद) को फैसला सुनाएको थियो ।

फैसला गरेको भोलिपल्टै आज साँझ ६ः३० बजे उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । कोइरालाले विसं २०६८ मा पत्नी गीता ढकालको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्