Logo

सुत्केरीलाई पोषण भत्ता, अशक्त, ज्येष्ठ तथा अपाङग व्यक्तिलाई घरमै उपचारको व्यवस्था



Spread the love

३१ जेठ, कञ्चनपुर । बेलौरी नगरपालिकाले सुत्केरीलाई रु ९०० पोषण भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकामा बसोबास गर्ने सुत्केरीलाई आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि भत्ताको रकम उपलब्ध गराइने भएको हो । सुत्केरी पोषण भत्ताका लागि स्वास्थ्य संस्थामा सुत्केरी भएको हुनुपर्ने र नगरपालिकामा बसोबास भएको हुनुपर्नेछ ।

नगरप्रमुख पोतीलाल चौधरीका अनुसार नगरपालिकामा बसोबास गर्ने अशक्त, ज्येष्ठ तथा अपाङ्ग व्यक्तिलाई घरमै गएर स्वास्थ्य परीक्षण तथा परामर्शका लागि स्वास्थ्यकर्मीलाई खटाइनेछ । “सुत्केरी भएकालाई भत्ता दिने र घरमै स्वास्थ्य परीक्षण गर्ने कार्यका लागि नगर कार्यपालिकामा निर्णय गरेका छौँ”, नगरप्रमुख चौधरीले भने, “नगरसभाबाट बजेटको व्यवस्था गरी कार्यक्रम सञ्चालन हुन्छ । योसँगै कार्यपालिकाबाट प्रतिदिन छ घण्टा अनिवार्य र अतिरिक्त समय कार्य गरेवापत स्वास्थ्यकर्मीलाई प्रतिदिन रु ७०० भत्ता र रु २०० यातायात खर्च दिने निर्णयसमेत गरिएको छ ।”

गेटा आँखा अस्पताल उपचार केन्द्र बेलौरीलाई तत्काल सर्जिकल सेवा तथा स्वास्थ्य बीमा सञ्चालन गराउनका लागि पहल गरिने भएको छ । “नगर क्षेत्रमा उत्पादन हुने फोहर व्यवस्थापनका लागि छलफल गर्छौँ”, नगरप्रमुख चौधरीले भने, “नाप नक्सा कार्य सम्पन्न भइसकेका नगरपालिकाको वडा नं ४ अन्तर्गत रहेका भूमिहीन, दलित भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको यथाशीघ्र लालपूर्जा तयार गरी वितरण गर्छौँ ।”

नगरपालिकाको सीमा क्षेत्रमा भारतीय एसएसबीद्वारा भइरहेको नेपाली भूमि अतिक्रमण कार्य रोक्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत गृह तथा परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ । बेलौरी छोटी भन्सार नाका सञ्चालनका लागि पटकपटक सम्बन्धित निकायमा पत्राचार गरिए पनि हालसम्म कुनै प्रक्रिया अगाडि नबढेकाले यथाशीघ्र नाका सञ्चालनका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत गृह तथा परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्