Logo

सरोकारवाला निकायले गरे असहाय बाल विकासको अनुगमन



Spread the love


दाङका सरोकारवाला निकायले तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बाल विकास नेपालको अनुगमन गरेका छन् । शुक्रवार महिला तथा बालबालिका कार्यालय दाङ, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, नेपाल पत्रकार महासंघ दाङले अनुगमन गरेका हुन् । अनुगमन टोलीले उक्त बालबिकास केन्द्रले सरकारी निकायले गर्न नसकेको काम गरेको भन्दै प्रशंसा गरेका थिए । अहिले जिल्लामा अभिभावक विहीन बनेका बालबालिकाहरूलाई पालन पोषण तथा शिक्षा दिक्षा दिइरहेको एक मात्र संस्था भएकाले यसको स्तोरन्नती आवश्यक रहेको अनुगमन टोलीको निष्कर्ष थियो । साथै कुनै पनि संस्थालाई दिगो बनाउन निश्चित लक्ष्य बोकेर अगाडि बढ्नु पर्ने भन्दै लक्ष्य अनुसार अगाडि बढ्न अनुरोध पनि गरेको थियो ।

अनुगमन टोलीमा महिला तथा बालबालिका कार्यालय दाङका प्रमुख बिश्वमनी जोशी, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख सूर्यराज घिमिरे, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक जनकसिंह धामी,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन, महिला विकास कार्यालय दाङका सुन कुमारी घर्ती, तेजा गैरेलगायत रहेका थिए ।

अनुुगमण गर्दै महिला तथा बालबालिका कार्यालय प्रमुख जोशीले बालबालिकालाई सहज पालन पोषण तथा शिक्षा दिक्षा दिनु राम्रो पक्ष भएको बताइन् । अब स्थानीय सरकारसँग समन्वय गरेर संस्थाको स्तरबृद्धि गर्न सुझाव समेत दिइन् । साथै जुन लक्ष्य लिएर लिइएको छ, त्यसलाई पुरा गर्ने दृढ विश्वास लिनुपर्ने उनको सुझाव थियो ।
साथै संस्थाको स्थलगत अवलोकन गरी आफ्नो संस्थाको अवस्था र सुझाव दिएकोमा आफूलाई सामाजिक काममा थप हौसला मिलेको संस्थाका अध्यक्ष विष्णु चौधरीले बताए । सरकारी निकायको साथ सहयोग पाएमा अझै ठुलो क्षेत्र ओगट्ने संस्था बनाउने बताए । उनले विभिन्न निकायको साथ पाएमा आफ्नै विद्यालय, बृद्धाश्रम खोल्ने, आफ्नै खेलमैदान निर्माण गर्ने लक्ष्य लिएको बताए । असहाय बालबालिकाको भविष्य निर्माण गर्ने लक्ष्य लिएको भन्दै यसलाई सफल पार्न सरकारी निकायको ठुलो सहयोग आवश्यक रहेको समेत उनको भनाई थियो ।
त्यस अवसरमा संस्थाका सल्लाहकार विनय कुमार पोख्रेल, कोषाध्यक्ष सीमा वली, प्रेस सल्लाहकार दिपक बोहरा, पत्रकार वसन्त पौडेलको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्