Logo

मनमगन बञ्जारा !!!



Spread the love

मेरो सानो सांगितिक महफिलमा यो महिना दुई गीतले खुब अड्डा जमाए । भिन्दै अन्दाज र भिन्दै स्वाद सहित बिल्कुल मदहोस् पार्ने सामर्थ्य बोकेका यी गीतहरु मेरो मन, मस्तिस्क र हृदयको स्पन्दनमा हरपलजसो गुन्जिरहे ।

पहिलो, लेजेन्डरी सिङ्गर/कम्पोजर दिपक बज्राचार्यको कम्ब्याक सङ् ‘मनमगन’ । दोस्रो, म्युजिकल कपल कोइराला ब्रोजको ‘बञ्जारा: द सङ् अफ फ्रिडम’ ।

दिपक बज्राचार्य निकै लामो ईतिहास बोकेका गज्जबका सिङ्गर हुन् । उनका गीतहरु सांगितिक रुपमा मात्रै नभएर लिरिकल्ली पनि बहुतै सुन्दर हुन्छन् । ‘अल्लारे’ मलाई असाध्यै मन परेको हो । यसपाली त झन धमाकेदार कमब्याक मार्दै उनले ‘मनमगन’ मार्फत एउटा लोभलाग्दो संगीतको प्रक्षेपण गरेका छन् । नेपाली कला, संस्कृति र सम्पदाको कोलाज झल्किने गरी मौलिक बाजा र धुनहरुको समिश्रण गरेर उनले नेपाली संगीतलाई नै बिराट बनाएका छन् ।

‘मनमगन’ बोल्छ,

कल्ले देला धन मलाई कल्ले देला धन

कल्ले देला मन मलाई कल्ले देला मन

आफै मनमगन म त आफै मन मगन

मलाई केलाई चाईयो धन म त आफै मनमगन !!

 

कैलेकसो यो फकिर मन दार्शनिक बन्न खोज्छ र सोच्छ, जिन्दगी खासमा सिम्पल हो, जटिल बनाइ रहेका छौ हामी आँफैले । इज्जत, शान, शौरत, धन-सम्पती, शक्ती र अनेक जुक्तीको जञ्जालले जिन्दगी बिल्कुल कंकाल बनेको छ । लाग्छ, अक्सर जिन्दगी हामी जिउने कम पिउने बढी गरिरहेछौ । सेलिब्रेसन गरिनुपर्ने यो समय जस्ट पास आवट मात्र भैरहेछ । व्यस्त कम अस्तव्यस्त हाम्रो जिन्दगीमा, आफ्नो लागि समय निकै कम भएको छ । अझ मनमौजी भएर हिंड्नु त निकै दुरको कुरा भैगयो ।

यस मामिलामा मलाई बज्राचार्यका शब्दहरु निकै घतलाग्दा लागेका छन ।

त्यसैगरी अर्कोतिर छ, ‘बञ्जारा: द सङ् अफ फ्रिडम’ । प्रवेश कोइराला र प्रशन्न कोइरालाको कम्बो ‘कोइराला ब्रोज’को पहिलो कृयसन हो ‘बञ्जारा’। तर अह, कुनै पनि एङ्गलबाट यो पहिलो देखिदैन । बिल्कुल फाइन एन्ड रकिङ । दिपक बज्राचार्यको स्टार-भ्यालुका बलमा ‘मनमगन’ जतिको दबङ स्टाइलमा नआए पनि, वर्ल्ड क्लास म्युजिक कम्पोजिसन, क्लासिकल भोकल, अनी अथाह् गहिराइ बोकेको लिरिक्स कम कविताको लोभलाग्दो समिश्रणले गीत निकै मिठो लाग्छ । नेपाली सांगीतिक फाँटमा निकै थोरै बनेका छन् शायद, यती सुन्दर गीतहरु । एकपल्ट सुनेपछी बस् लागिहाल्यो नशा ।

‘बञ्जारा’ बोल्छ,

जोगी हुँ मनमोजी हुँ घरबार हुनु कहाँ

बादल चन्चल आकाशको आधार हुनु कहाँ

मेरो प्यार हुनु कहाँ परिवार हुनु कहाँ

म न यहाँको न उहाँको मेरो अधिकार हुनु कहाँ

म त प्रकृतिको प्यारा हुँ, बञ्जारा !!

म त एक्लै डुल्ने आवारा हुँ, बञ्जारा  !!

 

खासमा, प्राकृतिक जिन्दगी सम्पूर्णत: स्वतन्त्र हुन्छ, मनमौजी , बञ्जारा हुन्छ । चाहे ती आकाशमा कावा खाँदै खुलेयाम उडिरहेका स्माइलिङ पंक्षीहरु हुन्, या त फकिर मोडमा जंगल सफारी गर्दै हिडिरहेका कडलिङ बन्यजन्तु नै किन नहुन् । सबका सब जिन्दगी बिल्कुल मस्त छन्, जबर्जस्त छन् । न कुनै कम्प्रोमाइज, न कुनै सौदाबाजी । शायद, जिन्दगी जिउने सवालमा हामी कहिकतै उनीहरु भन्दा धेरै पछाडि छुटिसक्यौ कि !

तर कस्तो गज्जब, जिन्दगी जिउनुमा यही त मज्जा छ कि, यसलाई जसले जसरी जुनसुकै स्टाइलमा पनि बिताइ दिन सक्छ । जिन्दगी यसरी नै जिउन पर्छ भन्ने सर्वव्यापी भएको दिन सम्भवत सबसे दु:खद दिन हुनेछ । किन्तु, बेफिक्र बेतुकमा बिना गण्तब्य हिंड्नुको जती मज्जा कहाँ सिमित भएर सांघुरिनुमा । मनमौजी तालमा बिल्कुल मनमगन भएर हिंड्नुमा जती मज्जा कहाँ स्थिरतामा हुनु । प्रकृति र जिन्दगीको महोत्सब मनाउदै बञ्जारा भएर रम्नुमा जती मज्जा कहाँ अरुमा हुनु र ।

तर समस्या नै यही हो कि, हामीलाई कहाँ त्यो स्वतन्त्रता ! हामी त बस सञ्जाल, जाल र जन्जालले बिल्कुल कंकाल भैसकेका छौ । होइन भने, खुलेयाम छोडिएको मनुष्य एक ‘मनमगन बञ्जारा’ हो, जो प्रकृतिका फनाहरुमा रमाउदै जिन्दगी सेलिब्रेट गर्न मन पराउछ, माया, लोभलालच र सम्बन्धको अनावश्यक सांसारिकताबाट उन्मुक्ती चाहन्छ ।

कि कसो मेरे जनाब !

For Link :-

  1. बञ्जारा: द सङ् अफ फ्रिडम

Banjara: The song of freedom (lyrical) (Official)

 

2. मनमगन

प्रतिक्रिया दिनुहोस्