Logo

सल्यानमा ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २६० सवारी साधन कारबाहीमा :



Spread the love

सवारी साधनको कारबाहीबाट गत वर्ष सल्यानमा रु ५४ लाख ८० हजार राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २६० सवारी साधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको हो । 

ट्राफिक नियम उलंघन गर्ने मोटरसाइकलबाट रु २७ लाख ९६ हजार, ट्र्याक्टरबाट रु सात लाख ७५ हजार, जीपबाट रु ६ लाख ६७ हजार, ट्रकबाट रु सात लाख ७६ हजार र बसबाट रु आठ सय ४६ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कारबाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल रहेको जिल्ला ट्राफिक कार्यालय सल्यानका इन्चार्ज गोपाल शर्माले जानकारी दिए । जिल्लामा पाँच हजार २२५ मोटरसाइकल कारबाहीमा परेको उनले जानकारी दिए ।

यस्तै उक्त अवधिमा एक हजार ४९९ ट्र्याक्टर, एक हजार २६४ जीप, एक हजार ४२६ ट्रक र ८४६ बस कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

‘सवारी साधनमा क्षमता भन्दा बढी यात्रु ओसारपसार गर्ने, क्षमता भन्दा बढी सामान लोड गर्ने, कृषि परियोजनका लागि खरीद गरेका यातायातका साधनमा ट्रली जडान गरेर नियम उलंघन गरेको पाइएको छ,’ इन्चार्ज शर्माले भने, ‘लाइसेन्स नभएका र लाइसेन्स भए पनि साधन चलाउँदासँगै नराख्ने सवारी चालक र सञ्चालकलाई पनि कारबाही गरिएको छ ।’

३७ सवारी दुर्घटनामा २० जनाको मृत्यु

यसैगरी, गत आर्थिक वर्षमा सल्यानमा ३७ वटा सवारीसाधन दुर्घटनामा परी २० जनाको ज्यान गएको छ ।

तीमध्ये १२ पुरुष, सात महिला र एक बालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, उक्त अवधिमा दुर्घटनामा परी ६३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा २९ पुरुष, २४ महिला, ६ बालक र चार बालिका रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्