Logo

यौनवर्धक औषधि भियग्रा आमालाई खुवाउँदा ११ जना बच्चाको मृत्यु



Spread the love

यौनवर्धक औषधि भियग्रा आमालाई खुवाउँदा ११ जना बच्चाको मृत्यु भएको छ । यो घटना नेदरल्याण्डको हो ।

हालै त्यहाँ गर्भवती महिलाहरुमा भियग्राको चिकित्सकीय परीक्षणका क्रममा गर्भमा रहेका ११ जना शिशुको मृत्यु भएपछि सरकारले उक्त परीक्षण तत्कालै रोकेको छ ।

परीक्षणका क्रममा गर्भवती महिलाहरुलाई भियग्रा दिने गरिएको थियो । गर्भनालको समस्या भएका गर्भवती महिलाहरुमा उक्त परीक्षण गरिएको थियो ।

गर्भवती महिलाले भियग्राको सेवन गर्दा शरीरमा रक्तप्रवाह उच्च हुने र यसले गर्भमा रहेको शिशुको फोक्सोमा गम्भीर असर पर्ने विज्ञहरुले ठहर गरेका छन् । यद्यपि गर्भवतीमा भियग्राको वास्तविक असर पहिचानका लागि थप अनुसन्धान आवश्यक रहेको बताइएको छ ।

यसअघि बेलायत, अष्ट्रेलिया तथा न्युजिल्याण्डमा पनि यस्तैखाले अनुसन्धान गरिएको थियो । तथापि त्यसक्रममा भियग्राले गर्भवती महिलामा कुनै नकारात्मक असर पार्ने तथ्य फेला परेको थिएन ।

कमजोर गर्भनालको समस्याका कारण गर्भमा रहेका शिशुको विकास रोकिनु एक गम्भीर रोग हो, जसको हालसम्म कुनै उपचार पत्ता लागेको छैन । यस्तो समस्या उत्पन्न हुँदा गर्भको बच्चा तोकिएको समयभन्दा अगाडि जन्मिने, कमजोर बच्चा जन्मिँदा मृत्यु हुने जोखिम धेरै हुन्छ । यस्तोमा भ्रुणको तौल बढाउने र बच्चा जन्मिने समयलाई पछि सार्ने उपाय लाभदायक हुन्छन् ।

पछिल्लो शोधका क्रममा कूल ९३ जना महिलालाई भियग्रा दिइएको थियो भने अरु ९० जनालाई एक नमूना औषधि दिइएको थियो ।

ती महिलाहरुबाट जन्मिएका मध्ये २० जना बच्चामा फोक्सो सम्बन्धी समस्या देखियो । ती मध्ये ३ जना बच्चा नमूना औषधि दिइएका महिलाबाट जन्मिएका थिए र अरु १७ जना भियग्रा सेवन गरेका महिलाबाट जन्मिएका थिए । ती मध्ये ११ जना बच्चाको मृत्यु भयो ।

स्रोत बीबीसी

प्रतिक्रिया दिनुहोस्