Logo

४१ लाखको लागतमा विद्यालयको भवन बनाइँदै:स्थानीय बासि हर्षित



Spread the love

कुस्मा नगरपालिका– १४ स्थित पञ्चकोशी माध्यामिक बिद्यालयको चार कोठे पक्की भवन निर्माण कार्य शुरु भएको छ ।

 

जिल्ला शिक्षा तथा समन्वय इकाइको रु ३६ लाख तथा बाँकी रकम विद्यालयले सहयोग जुटाउने गरी रु ४१ लाखको लागतमा भवन निर्माण हुन लागेको हो । चारकोठे भवनको निर्माणकार्य पाँच महिनाभित्रमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको भवन निर्माण समितिका अध्यक्ष सुनिल थापाले बताउनुभयो ।

निर्माणाधिन भवन शिलन्यास गर्दै वडाअध्यक्ष भीमप्रसाद गुरुङले विद्यालयको भौतिक संरचनामा सुधार र शैक्षिक गुणस्तरमा वृद्धि गर्दै लाने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले विद्यालयले पर्वत जिल्लामै फरक ढंगले यहाँ शैक्षिक सुधारको अभियान शुरु गरे पनि कक्षाकोठा अभावले समस्या भएकामा नयाँ भवनले त्यसको आवश्यकता पूरा गर्ने बताउनुभयो ।
कुस्मा नगरपालिका र वडा कार्यालयबाट भवन निर्माणका लागि नपुग रु पाँच लाख विनियोजन हुने विश्वास विद्यालयले लिएको उहाँले बताउनुभयो ।

उक्त विद्यालयले दुई वर्ष पहिलेदेखि मन्टेश्वरी र अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ भने सबै कक्षाकोठामा सिसी क्यामरा जडान गरी अनुगमन पनि गरेको छ ।
ऐच्छिक बिषयअन्तर्गत कम्युटर बिषयमा १० कक्षासम्म अध्यापन गराउँदै आएको उक्त विद्यालयलाई उत्कृष्ट शैक्षिक अभ्यास थालेकामा यस वर्ष कुस्मा नगरपालिका नगर शिक्षा शाखाले उत्कृष्ट विद्यालयको रुपमा सम्मानसमेत गरेको थियो ।

पहिरो पिडीतलाई सहयोग

बाढी र पहिरोका कारण समस्यामा परेका स्थानीय जलजला गाउँपालिकाका पीडितलाई लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ बी अन्तर्गतका लायन्स क्बलले आर्थिक र खाद्य सामाग्री सहयोग गरेका छन् । लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ बीअन्तर्गका सदस्यबाट रु दुई लाख २४ हजार, कुस्मास्थित लायन्स क्लबबाट रु २५ हजार गरी रु २ लाख ५० हजार पीडितको सामूहिक आवास निर्माणका लागि सहयोग गरिएको हो । त्यसैगरी लायन्स क्लब अफ पोखरा अन्नपूर्णले रु एक लाखभन्दा बढीको खाद्य सामाग्री र त्रिपाल वितरण गरेको छ ।

बाढी पहिरोपीडितका लागि संकलन गरिएको नगद र खाद्य सामाग्री जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ललाई हस्तान्तरण गरिएको छ । अध्यक्ष मल्ललाई लायन्स क्लब अफ डिस्ट्रिक्ट ३२५ बीका चिफ डिस्ट्रिक्ट एड्भाइजर काशीकुमार जोशी, डिस्ट्रिक्ट डिसेवल एड डिर्पाटमेन्ट चिफ सोनाम स्याङपो, सिनियर डिस्ट्रिक्ट एड्भाइजर दिनबन्धु पौडेललगायतले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो ।

गत साउन १ गते राति जलजला गाउँपालिका– ७ र ८ मा गएको बाढी पहिरोमा परी एक जनाको ज्यान गएको थियो भने १४ घर पूर्णरुपमा विस्थापित बनेका थिए । लस्तीखोलामा भएको कटान र अन्य क्षेत्रमा गएको पहिरोका कारण धेरै घरपरिवार जोखिममा छन् । बाढी पहिरोमा परेर घरबारबिहीन भएका आफन्त र स्थानीय निजी विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । पहिरो गएको जलजला–८ बेरनेटामा घर बनाउने जमिनसमेत नभएका कारण पीडित सुकुम्वासी दलितका लागि अहिले सुरक्षित स्थान र सामूहिक आवासको आवश्यकता खटकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्