Logo

भ्यु टावर बन्न नदिन सांसद नै सक्रिय



Spread the love

view_Tawor

राजधानीको पुरानो बसपार्कमा ‘काठमाडौं भ्यु टावर’ बनाउने योजना अलपत्र परेको छ । स्थानीयवासी र राजनीतिक दलको अवरोधका कारण भ्यु टावर निर्माण प्रभावित बनेको हो ।
नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानको नेतृत्वमा राजनीतिक दलले अवरोध गरेपछि ठेकेदार कम्पनीले भ्यु टावर निर्माणको काम अघि बढाउन सकेको छैन । भ्यु टावर निर्माणका लागि निर्माण कम्पनीले काठमाडौं महानगरपालिकाबाट साउनमै कार्यादेश लिइसके पनि काम अघि बढाउन नसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।
उनले भने, ‘भ्यू टावर निर्माणको काम अघि बढ्न नसक्नुमा राजनीतिक दल र स्थानीय बासिन्दाको अवरोध कारण देखिन्छ । निर्माण कम्पनीको पनि केही कमजोरी छ ।’
सांसद प्रधान भ्यू टावर निर्माण रोक्न सक्रिय
काठमाडौं निर्वाचन क्षेत्र नं। ६ का सांसद भीमसेनदास प्रधानको नेतृत्वमा बसपार्कमा भ्यू टावर बन्न नदिन राजनीतिक लबिङ सुरु भएको हो । सांसद प्रधानले भ्यू टावर निर्माण रोक्न काठमाडौं निर्वाचन क्षेत्रका सबै सांसदसँग छलफल चलाइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सांसद प्रधानकै नेतृत्वमा एक डेलिगेसनसमेत गइसकेको छ । उनीहरूले सहरी विकासमन्त्री अर्जुननरसिंह केसीसँग पनि भेट गरेर भ्यू टावर निर्माणको काम रोक्नुपर्ने माग गरेका छन् । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई भेटेरै उनीहरूले भ्यू टावर निर्माण तत्काल रोक्न ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानसहितको टोलीले भ्यू टावर निर्माण रोक्न ज्ञापनपत्र बुझाएको महानगरपालिकाका कार्यकारी अधिकृत तामाङले बताए । ‘उहाँहरूले बसपार्कलाई अहिलेकै अवस्थामा छोड्न भन्नुभएको छ । तर, उहाँहरूले किन यस्तो माग गर्नुभएको हो, बुझ्न सकिएको छैन,’ तामाङले भने ।
भ्यू टावर निर्माण गर्न दिन्नौँ : प्रधान
सांसद प्रधानले बसपार्कमा भ्यू टावर निर्माण रोक्न लबिङ सुरु गरिएको स्वीकार गरे । बसपार्क क्षेत्रलाई पुरानै अवस्थामा राख्न भ्यू टावर निर्माण रोक्न लागिएको उनले बताए । उनले भने, ‘बसपार्कमा भ्यू टावर निर्माण गर्न हामी दिँदैनौँ । बसपार्कलाई पुरानै अवस्थामा राखिनुपर्छ ।’ काठमाडौंमा खुला क्षेत्र अभाव भएकाले यस्तो क्षेत्रलाई मासेर व्यापारिक प्रयोजनले टावर निर्माण गर्न नहुने जिकिर उनले गरे । ‘यस्तो हुन हामी कुनै हालतमा दिनेछैनौँ,’ उनले भने, ‘यसका लागि हामी सबै उपाय अपनाउन तयार छौँ ।’
सांसद प्रधानले कानुनी उपचारमार्फत भए पनि टावर निर्माण रोक्ने बताए । उनले भने, ‘महानगरपालिका एकतर्फी ढंगले अघि बढे हामी अदालत जान्छौँ । अदालतबाट स्टे अर्डर ल्याउँछौँ । त्यसपछि भ्यू टावर निर्माण रोकिन्छ ।’
निर्माण रोकिँदैन : महानगरपालिका
महानगरपालिकाका कार्यकारी अधिकृत तामाङले कार्यादेश जारी भइसकेकाले भ्यू टावर निर्माण नरोकिने बताए । भ्यू टावर निर्माण प्रक्रिया ०६८ देखि नै सुरु भए पनि प्रधानलगायतले अहिले आएर विरोध गरेको बताए । ‘भ्यू टावर निर्माणको सबै प्रक्रिया पूरा भएपछि उहाँहरूले रोक्न खोज्नुभएको छ,’ उनले भने, ‘निर्माण प्रक्रिया अघि बढिसकेकाले रोक्ने कुरा आउँदैन । महानगरपालिका कानुनबमोजिम अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्