Logo

फोटो वाक टु भक्तपुर !



Spread the love

 

आफ्नो फुर्सदिलो दिन घरमा सुतेर बिताइरहेको थिए । उमंग दाइको फोन आयो र झस्किएँ !
दाइ: कता हो भाइ ?
म: घर तिरै छु दादा !
दाइ: भोलि भक्तपुर जाने हो त फोटो खिच्न ?
म: हुन्छ ! कति खेर ?
दाइ: बिहानै नि !
म: ल म आकाशे पुल मुनि नै हुन्छु, लिएरै जानु !

दाइ: हाहा ल ल !

भोलिपल्ट आकाशे पुलमा दाइ र म संगै पुग्यौ । पानी पार्ने सुरसार गरिरहेको थियो आकाश । बाइक हुइकियो, दाइले हुइकाए ! बिहानै खासै चहलपहल थिएन, दरबार स्क्वेर तिर । केही मर्निङ्ग वाक गर्न निस्किएका जस्तो देखिन्थे । सब्जेक्ट खोज्दै हामीले साँघुरा गल्ली छिचोल्यौ ! पांच मिनेट पछिको हिडाई पश्चात अल्झायो आधि घण्टा जति, झरीले !

९ अप्रील, २०१८

यो पसल छेउमै रहेको पुल तरेर फर्किदा बल्ल पसल खोल्ने सुरसार गर्दै थिए, पसले दाइ। उनले पसल खोले, र सरसफाई गर्न थाले । अनि आफ्नो काम गर्न तिर लागे । मेरो बोली अलि ठाडो छ क्यार, उमंग दाइ आफै गए फोटो खिच्ने अनुमति लिनलाई । अन्तत: हामीले दाइको फोटो खिच्यौ !

पानी पर्दा हामी ठ्याक्कै, यी आमाको पसल अगाडी तिर ओत लागेका थियौ । पसलमा बस्नु भएको आमासंग सामान्य कुराकानी भयो — व्यापार र दैनिकीको विषयमा । कुराकानी कै दौरान उनी खै के भन्दै थिइन्, मुस्कुराउदो उनको अनुहार क्यामेरामा कैद नगरी बस्न सकिन । फोटो देखाइसकेपछि उनी झन् मुस्कुराइन् !

 

 

आफ्नो ममीसंग तरकारी किन्न आएका थिए यी भाइ। यता उता गरेर आफ्नै सुरमा रमिरहेका थिए । अगाडिको दांत फ़ुस्किएको थियो यिनको । उद्देश्य त्यही फ़ुस्किएको दांतले छोडेको मुस्कान हेर्नु थियो, भाइले मानेनन् हासिदिनलाई, अनि बाल नदिए जस्तो गरेर फोटो खिचाउन रेडी भए —   अन्तत तस्बिर हात लाग्यो !

 

बल्ल पसल खोलेर बसेका थिए होलान् साहुजी — सामान मिलाइराखे जस्तो देखिन्थे । हामी फोटो खिच्दै हिड्दै थियौ । सोही बेला एक जना महिला आइन् र प्रश्न तेर्स्याइन् — के को लागि हो फोटो ? उमंग दाइ र मैले संगै भन्यौ — आफ्नै लागि हो । महिला ठूलो स्वरमा कराइन् —  हुन्छ आफ्नो लागि कुन संस्थाबाट आएको होला अब कहाँ लगेर फोटो बेच्ने होला ! रिस उठीहाल्यो — नाकको टुप्पो मै जो छ । लामो सास फेरें र पसले दाइको एउटा फोटो खिचें । यति सबै सुनेर पनि फोटो खिच्न दिने दाइलाई धन्यवाद !

 

 

मैले यता उता क्यामेरा घुमाउदै तस्बिर कैद गरुन्जेल, यिनले सार्है ख्याल गरेर हेरेका रहेछन् । उनी मेरो अगाडी आएर उभिए, र एकोहोरो हेरिरहे । मैले यिनको तस्बिर सुरुमा त कैद गरिन । पछि यिनी तिर फर्खेर हेर्दा उनले मै तिर नै हेरिरहेको पाएँ र खिचें यिनको एउटा तस्बिर !

 

 

स्क्वेर अलि खचाखच हुन थालेको थियो । साथैमा कार्यक्रम पनि आयोजना गरिएको रहेछ । फर्किने बेला तिर हामीले न्यातापोल देखिने गरि तस्बिर खिच्यौ ।

बाहिर निस्किएर जु:जु धौ खाइयो र हानियो काठमाडौँ तिर । दाइले जडिबुटी पेट्रोल पम्पमा मलाई छोडिदिए र लागे आफ्नो बासस्थान सुकेधारा तिर !

ooo

ooo

ट्रान्स्पोर्टेसन इन्जिनियरिङ्गमा स्नातकोत्तर गरिरहेका आचार्य सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्