Logo

युद्धबाट क्षतविक्षत अफगानी किसान खडेरीको चपेटामा



Spread the love
गहुँ बाली ओइलाएपछि र पानीका कुवा सुकेपछि गुलाम अब्बासले गाईबस्तु बेचे र हजारौँ पीडित किसानझैं सपरिवार शहरतिर बसाईं हिडेका छन् ।
युद्धको विभिषिका दिनरात व्यहोर्न बाध्य यहाँका किसानमाथि दशौं वर्षपछिको चरम खडेरीले जीवनमा नयाँ बज्रपात निम्त्याएको छ ।
 
हिउँदका महिनामा देशैभर हिउँ र वर्षा असाध्यै कम प¥यो र त्यसले हिउँदे बालीलाई ठूलो क्षति पु¥यायो । पहिल्यैदेखि कमजोर आर्थिक स्थितिमा बाँचिरहेका करोडौँ अफगानीमाझ यस पटकको खडेरीले पीडामाथि पीडा थपेको छ, र देशैभर गम्भीर खाद्य सङ्कट हुने चेतावनी आउन थालेका छन् ।
 
अफगानिस्तानको सामान्यतया राम्रै उब्जनी हुने उत्तरी सहर बाल्खको चारकिन्त गाउँका हजारौं किसानजस्तै ४५ वर्षीय अब्बास कामको खोजीमा प्रान्तीय राजधानी मजार–ए–शरिफमा ११ जनाको परिवारसहित आइपुगेका छन् ।
 
“यो वर्षको जस्तो कठोर खडेरी मैले जीवनमा कहिल्यै भोगेको थिइनँ,” कृषि पेशाबाट जीवन निर्वाह गरिरहेका अब्बासले भन्नुभयो । उहाँको जीवन गुजाराको एकमात्र साधन खेतीपाती नै हो । सुख्खा र ज्यातै तातो मौसमका कारण यस वर्षको बचेखुचेको फसल वसन्त र गृष्म ऋतुमा नै तयार हुनेछ ।
 
भोकमरी पूर्वानुमान प्रणाली सञ्जालका अनुसार, अफगानिस्तानमा सन् २०१८ को गहुँ उत्पादन सन् २०११ यताकै सबैभन्दा कम हुने अनुमान गरिएको छ ।
 
यो वर्ष गहुँको उत्पादनमा करिब २५ लाख टन कमी हुनेछ । यो स्थितिमा २० लाखभन्दा बढी मानिसले खाद्य सङ्कटको सामना गर्नुपर्नेछ र अर्को छ महिनामा मानवीय सहायता अति जरुरी हुनेछ, संयुक्त राष्ट्रसंघले जनाएको छ ।
 
“यदि सरकारी निकाय र अन्तरराष्ट्रिय समुदायले बेलैमा यस चुनौतीका बारेमा कदम नचाल्ने हो भने अफगानिस्तानमा अर्को हिउँद लाग्दा–नलाग्दा ठूलै विपत्ति आइलाग्नेछ,” अफगानिस्तानका लागि राष्ट्रसंघीय मानवीय संयोजक टोबी लान्जरले बताउनुभयो ।
 
तर अब्बासजस्ता हजारौं परिवारले आशा मारिसकेका छन्, र उनीहरु घरगाउँ छाडेर कामको खोजीमा शहरतिर पसेका छन् । राष्ट्रसंघको अनुमानमा सुख्खाकै कारण ७०,००० भन्दा बढी मानिस विस्थापित भएर शहरी इलाकामा गइसकेका छन् ।
 
“तीन वर्षअघि त हाम्रो गाउँमा राम्रो वर्षा हुनुका साथै प्रशस्त हिउँ परेको थियो,” अब्बासले भन्नुभयो । “बाली राम्रो भएको थियो र मैले एकै सिजनमा ३००,००० भन्दा बढी अफगानी मुद्रा कमाएको थिएँ । तर यो वर्ष, मैले आफ्ना भेडाबाख्रा बेच्दा पनि १००,००० भन्दा कम आम्दानी गरेको छु ।”
 
कम वर्षा हुनथालेपछि बाल्खको अधिकांश खेतीयोग्य जमिन र गाईबस्तुका चरन सुख्खा भएको बाली व्यवस्थापनसम्बन्धी प्रान्तीय निर्देशक जाबिउल्लाह जूबिनले बताउनुभयो ।
 
“प्रान्तका ४५०,००० भन्दाबढी किसान र फिरन्ते गोठालाले आफ्ना गाईबस्तु, भेडाबाख्रा काटेर खाइसके वा थोरै मूल्यमा बेचिसके,” जूबिनले भन्नुभयो ।
 
“गाउँका सबै मानिस अहिले आफ्ना बचेका गाईबस्तु के गर्ने र तिनीहरुलाई कसरी बचाउने भनेर चिन्तित छन् किनभने उनीहरुको जीवनको आधार नै ती गाईबस्तु थिए,” दलत अबाद जिल्लामा भेडाबाख्रा चराउने गोठाला हाजी सोराबले बताउनुभयो ।
 
यही अफगानिस्तानमा तालिबान र इस्लामिक स्टेटका लडाकूलाई परास्त गर्नेतर्फ सुरक्षाफौजले दिनरात सङ्घर्ष गरिरहेको छ, र आम नागरिकको मृत्यु ठूलो संख्यामा भइरहेको छ ।
 
कृषि नै अफगानिस्तानको अर्थतन्त्रको मेरुदण्ड हो । यस क्षेत्रले करिब एक करोड ५० लाख मानिसलाई रोजगारी दिएको छ । राष्ट्रसंघका अनुसार अफगानिस्तानका २० वटा प्रान्तका जनता यसपटक खडेरीबाट सर्वाधिक पीडित भएका छन् ।
 
विगतमै बेरोजगारीको दर उच्च रहेको अफगानिस्तानमा पछिल्लो समय ठूलो संख्यामा इरान र आन्तरिकरुपमा विस्थापित अफगानी आफ्ना घरगाउँ फर्किएकाले अरु काम पाउने सम्भावना ज्यादै न्यून छ ।
 
कृषि तथा पशुपालन मन्त्रालयका प्रवक्ता अकबर रुस्तामीले भन्नुभयो, “बजारमा भेडा र बाख्रा बेच्न किसानमाझ तँछाडमछाड चलेकोले मूल्यमा भारी कमी आएको छ । किसान भेडाबाख्राको मूल्यमा अझै कमी आउला भनेर भयग्रस्त छन् ।”
 
यहीबीच, गाईबस्तुको दानाको मूल्यमा पनि वृद्धि भएको छ । रुस्तामीक अनुसार, मुलुकभर पशुपालन गर्ने कृषकका लागि ठूलै परिमाणमा दानाको आवश्यकता देखिएको छ । अफगानी अधिकारीले किसानका लागि ज्यादै सीमित मात्र सुविधा उपलब्ध गराउन सकेका छन् र अन्तरराष्ट्रिय दातृ निकाय पनि बढ्दो माग सम्बोधन गर्न प्रयासरत छन् ।
 
राष्ट्रसंघीय खाद्य तथा अन्य सहायता सुख्खा–प्रभावित प्रान्तमा हालैका महिनाहरुमा ४६०,००० भन्दा बढी परिवारसम्म पुगेको छ, तर मागको तुलनामा यो एक तिहाइभन्दा कम हो । राष्ट्रसंघका एक अधिकारीका अनुसार अफगान सरकार र अन्तरराष्ट्रिय निकायबीच ६०,००० टन गहुँ उपलब्ध गराउने सम्झौता भएको छ ।
 
पहिचान गरिएको सेवासुविधा र सहायता तत्कालै किसानसम्म नपुगेमा खडेरी झेल्ने बाली जस्तै अफिम खेतीतर्फ किसान आकर्षित हुनेछन्, अब्बासले बताउनुभयो ।
 
सन् २००१ मा अमेरिकी नेतृत्वको सेनाले मनोद्दीपक लागू औषधको विरुद्ध करोडौँ डलर खर्च गरेपनि अफगानिस्तान अझै पनि विश्वमा अफिमको सबैभन्दा ठूलो उत्पादक राष्ट्र हो ।
 
“सैनिकको खर्च धान्नसमेत कठिन रहेको सरकारलाई दुर्गम भागसम्म पुगेर मानिसलाई मद्दत गर्न कठिन छ,” अब्बासको भनाइ छ । “यस्तो परिस्थितिले अन्ततोगत्वा कानुन–निषेधित बालीनाली लगाउनेतर्फ मानिसलाई बाध्य बनाउँछ ।” अनुवादः सोमनाथ लामिछाने (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्