Logo

राष्ट्रिय गौरवका आयोजनामा प्रदेश न:५ को चासो



Spread the love

राष्ट्रिय गौरवका आयोजना निर्माणकोे अवस्थाबारे प्रदेश सरकारले चासो देखाएको छ ।

 

मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका कामको प्रगतिका सम्बन्धमा आयोजना प्रमुखसँग जानकारी लिए । उनले ती आयोजना निर्माण समयमै सम्पन्न गर्न के गर्न सकिन्छ भन्नेबारे आयोजना प्रमुखहरूसँग छलफल गरेका छन् ।

प्रदेश नं ५ का सबै मन्त्री र सचिवसमेतको उपस्थितिमा मुख्यमन्त्री पोखरेलले आयोजनाका प्रमुखसँग आयोजनामा अहिलेसम्म भएको काम, खर्च, बाँकी काम र परियोजना सम्पन्न गर्न लाग्ने समय तथा रकमका सम्बन्धमा जानकारी लिएका थिए । प्रदेश नं ५ मा राष्ट्रिय गौरवका आयोजनाका रूपमा रुपन्देहीमा गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि विगत चार दशकदेखि सञ्चालित लुम्बिनी गुरुयोजना, बर्दिया र बाँकेका जमीनमा सिँचाइ सुविधा पु¥याउन स्वदेशको पानी स्वदेशमै प्रयोग गर्ने मुख्य आयोजनाको रूपमा रहेको बवई सिँचाइ आयोजना, बाँके र बर्दियाका जमीनमा सिँचाइ तथा जलविद्युत् उत्पादन गर्ने बहुउद्देश्यीय आयोजनाको रूपमा रहेको भेरी बवई डाइभर्सन आयोजना तथा तराईका जिल्लालाई सडक यातायातको सञ्जालसँग जोड्न सञ्चालित हुलाकी राजमार्गजस्ता महत्वपूर्ण आयोजना सञ्चालित छन् ।

मुख्यमन्त्रीसँगको छलफलमा गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले विमानस्थलको निर्माणको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उनले १० महिनाभित्र विमानस्थल सञ्चालन गर्ने गरी निर्माणको काम भइरहेको मुख्यमन्त्री पोखरेललाई जानकारी गराए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अन्तर निकाय समन्वयको अभावले काम गर्न समस्या भएको शर्माको भनाइ थियो ।

आयोजना प्रमुख शर्माले मुआब्जाको करीब रु ६ अर्ब समयमै निकासा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विमानस्थल सञ्चालनको पद्धतिका बारेमा सरकारले ध्यान पु¥याउनुपर्ने बताए ।

लुम्विनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले चार दशकदेखि निर्माणको क्रममा रहेको लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम पाँच वर्षभित्र सक्ने गरी काम भइरहेको जानकारी दिए । उनले गत आवमा गुरुयोजनाको ९९ प्रतिशत वित्तीय प्रगति र शतप्रतिशत भौतिक प्रगति भएको विवरण प्रस्तुत गरे । गत आवमा सरकारले लुम्बिनी गुरुयोजनाका लागि रु ७१ करोड ९४ लाख विनियोजन गरेको थियो । उहाँले लुम्बिनीको विकासमा स्थानीयसँगको सम्बन्ध सुमधुर बन्न नसक्नु, लुम्बिनी क्षेत्रमा जथाभावी भौतिक संरचना निर्माण हुनु तथा लुम्बिनीलाई जोड्ने सडकको अवस्था कमजोर र वातावरणमैत्री नहुनु समस्याको रूपमा रहेको उल्लेख गरे ।
बवई सिँचाई आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठ, सिक्टा सिँचाइ आयोजनाका वरिष्ठ इन्जिनियर प्रवीण श्रेष्ठ, भेरी बबइ डाइभर्सन आयोजनाका प्रमुख ओमप्रकाश पुडासैनीलगायतले आयोजनाका अहिलेसम्मको प्रगति र काम गर्दाका समस्या सम्बन्धमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

आयोजनाको समग्र जानकारी लिएपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिको रूपमा प्रदेश सरकारले कृषिलाई मुख्य आधार बनाएकाले भेरी बबइ डाइभर्सन, बबइ सिँचाइ आयोजनाजस्ता महत्वपूर्ण ठूला आयोजना बाँके, बर्दियाका उर्वर कृषिभूमिलाई आधुनिकीकरण र व्यवसायीकरण गरेर प्रदेशलाई कृषिहबको रूपमा स्थापित गर्न महत्वपूर्ण हुने बताए । उनले  पूर्व–पश्चिम हुलाकी सडक तराईका जनताको समृद्धिसँग जोडिएको आयोजना भएकाले यसको निर्माणमा राज्यको विशेष चासो रहको बताए ।
यस्तै लुम्बिनीमा पर्यटनमैत्री वातावरण नबनेसम्म पूर्वाधार विकासले मात्र आर्थिक समृद्धि असम्भव रहेको उहाँको भनाइ थियो । विकास कोषले स्थानीयलाई आर्थिक विकासको माध्यममा जोड्ने गरी कार्यक्रम अगाडि बढाउन सुझाव दिए । उनले राष्ट्रिय गौरवका रूपमा सञ्चालित महत्वपूर्ण आयोजनाको काम समयमा सम्पन्न गर्न सङ्घीय सरकार र प्रधानमन्त्रीको विशेष चासो रहेको बताउँदै प्रदेशमा सञ्चालित सबै आयोजनाको प्रतिवेदन सङ्घीय सरकारलाई पठाउने र समस्या भए समाधान गरी समयमा नै सम्पन्न गर्न पहल गर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्