Logo

पहिरोपीडितलाई रु २० हजारका दरले राहत



Spread the love

म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा बस्ती माथिबाट खसेको पहिरोका कारण पूर्णरूपमा क्षति पुगेका छ घरपरिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत उपलब्ध गराउने भएको छ ।

मङ्गलबार राति भएको पहिरोको घटनालगत्तै बुधबार दिउँसो बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बिलबाङका सबै घरबारबिहीन पहिरोपीडितलाई रु २० हजारका दरले राहत दिने निर्णय गरेको हो ।

गाउँ माथिबाट खसेको पहिरोले स्थानीय नरबहादुर पुन, खप्रसाद पुन, चिजमान पुन, नुटबहादुर पुन, श्यामलाल पुन र भुवन पुनको घर पूर्णरूपमा क्षति भएकोे थियो । पहिराका कारण बिलबालका एक दर्जन बढी घर उच्च जोखिममा परेकाले उनीहरूलाई समेत सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

विपद् व्यवस्थापन समितिको बैठकले कालीगण्डकी नदीको कटानले बगाएको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीमा रहेको धौलागिरि आधारभूत विद्यालयको पूर्वाधार निर्माण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकार समक्ष अनुरोध गरिएको उनले बताए ।

बैठकले बाढी पहिरोको जोखिममा रहेका अन्नपूर्ण गाउँपालिकाअन्तर्गतका गुइठे, काभ्रेभीर, फगाम, सुवा, कोप्चेपानीलगायत दर्जनाँै स्थानका घर नदीको कटान र पहिरोको जोखिममा रहेकाले संरक्षणको लागि प्रदेश सरकारसमक्ष अनुरोध गरी पठाउने निर्णय गर्नुका साथै स्तरोन्नति भइरहेको बेनी–जोमसोम सडक आयोजनालाई पनि बस्तीको संरक्षणको उपाय अबलम्वन गर्न निर्देशन दिइएको छ ।

पीडितलाई सहयोग गर्न आग्रह

बिलबाङमा पहिरोबाट पुरिएका चार घरसहित पूर्ण क्षति भएका छ घरका परिवारलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र सुरक्षा निकायका प्रतिनिधिले निरीक्षण गरी पहिरोबाट प्रभावित ती परिवारलाई बस्ने व्यवस्था मिलाएको हो ।

‘‘पहिरोले बिजोग बनाएको छ, धन्न पहिरो खस्न थाल्नु पहिल्यै नै मानिसहरु घर बाहिर निस्किएकाले मानवीय क्षति हुन पाएन, अब घरबारबिहीन भएकालाई तत्काल खाने र बस्ने प्रबन्ध मिलाउन पहल थाल्छौँ, ” अध्यक्ष रोकाले भने । घरबारबिहीन भएकाको भाँडाकुडा र लत्ताकपडादेखि सबै सामान पहिरोमै पुरिएकाले उनीहरूलाई सबै क्षेत्रबाट सहयोग गर्न उनले आग्रह पनि गरे ।  बुधवार नै दरबाङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जीवन आचार्य नेतृत्वको टोलीले घटनास्थलमा पुगेर क्षतिको विवरण सङ्कलन गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्