Logo

हामी सबै बौद्धिक बलात्कारी !



Spread the love

 

 

  • राजन के.सी.’प्रमोद’

 

मिडियामा एउटा तात्तातो खबर आयो,”‘बलात्कारीलाई फासी दे’ भन्दै पेटिकोट लगाएर माइतीघरमा प्रदर्शन” । खबर अनुसार, बलात्कारी पुरुषलाई फाँसीको माग गर्दै राजाधानीको माइतीघरमा केही महिला अधिकारकर्मीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका थिए । देशको मुल कानुन संविधान मै फाँसीको व्यवस्था गरियोस भन्ने माग उनीहरुको थियो । उक्त प्रदर्शनका क्रममा सुरक्षाकर्मीले उनीहरुमाथि धरपकड गरी नियन्त्रणमा लिएको समेत सुन्नमा आयो । जम्मा केही थान पंत्तिमा मिडियाको सानो स्पेस खर्चेर आएको यो खबरले मेरो फुच्चे मस्तिष्कमा भने निकै ठुलो हलचल ल्याइदियो ।

हुन त, यसो भनिरहदा यस बिषयमा यो समाचार नै पहिलो झट्का भने हैन । केही दिन अघि मात्रै नयाँँ पत्रीका राष्ट्रिय दैनिकको फिचरमा “एकै महिनामा २३ बलात्कार” शिर्षकको एउटा डरलाग्दो खबर मन मस्तिस्क हलचल पार्ने गरी अाइसके कै थियो । र त्यसलाई तरोताजा पार्ने गरी हरेक दिन जसो “बालिकाको बलात्कार पछि हत्या”, “किशोरी माथि सामुहिक बलात्कार”, “आफ्नै बाबु र दाइबाट बलात्कार”, “प्रहरीद्वारा एक स्कुले बालिका बलात्‍कृत”, “छोरी जोगाउन हरेक दिन आमालाई चुनौती” जस्ता ‘छोटा प्याकेज, बडा धमाका’मा सीमित खबरहरु आई नै रहेका छन ।

समग्रमा २-३ सय शब्दको एउटा समाचार, पत्रीका या टिभीको सानो स्पेस र केही दिनको तात्तातो हल्ला सँगै कसैको अमुल्य जीवनमाथि लगातार खेलवाड गरिरहेछौ हामी । लाचार पीडित परिवार, मुकदर्शक बनेको समाज, न्याय कम खबर खोजिरहेका मिडियाहरु र स्लिपिङ ट्याब्लेटको लामो चिरनिद्रामा लम्पसार सरकार । अचम्म त अझ के छ भने, बलात्‍कृतहरुको बाँच्ने आधारमाथि नै प्रश्न उठाइएको छ र बलात्कारीलाई भने दिनानुदिन मर्दाङ्गीको स्याबास दिइएको छ ।

हाय ! यो समय ।

कसको गर्नु अब भरोसा ?

देश र जनताको सुरक्षाका लागि भनेर देशैभरी फुलीवाल सुरक्षाकर्मीहरु खटाइएको हुन्छ । जनताको सुरक्षा, अमनचयन र शान्तीको जिम्मेवारी बोकेर हिंडेको फुलीवाल नै एक किशोर केटीको फुली निकाल्न थाल्छ भने, कसको गर्नु अब भरोसा ?

‘शिक्षक’ शब्द आँफैमा निकै पुज्य छ । यसको महानताबारे नै संसारमा कति कला-साहित्यको सृजना गरियो होला अहिलेसम्म । एउटा बिद्यार्थी जब स्कुलमा जान्छ, तब उसलाई आफ्नै घरमा छु भन्ने महसुस हुन्छ र शिक्षकहरु आफ्नै बाबु-आमा लाग्न थाल्छन् । तर अफसोस ! जब त्यही गुरु भनाउदो नै आफ्नो छात्राको लुगा फुकाल्न अाइपुग्छ भने, कसको गर्नु अब भरोसा ?

हुँदाहुँदा, अब त आफुलाई जन्माउने, हुर्काउने, पढाउने, जमिनमा लड्दा उठाउने अनि काँधमा राखी सपना देख्न सिकाउने आफ्नो सहोदर बाउ नै बलात्कारीको परिचय लिएर आउछ भने, तपाईं आँफै भन्नुस्, कसको गर्नु अब भरोसा ?

शायद अब भरोसाको जमाना त रहदै रहेन । न घरको, न समाजको, न त सुरक्षा दिन आएकाहरुको, न त शिक्षा-दिक्षा दिन भनी आएकाहरुको नै । के हाम्रो समाज साच्चै ध्वंश र विनाशको अधोगतीतिर हिंडेकै हो त ? के अब भरोसा र विश्वास जती सबै एउटा मासुको डल्लो र त्यस भित्रको चाहनाले सखाप पार्देको हो त ? प्रश्नलाई दिनानुदिन जटिल बनाई रहेछन्, ताता भनाउदा खबरहरुले ।

हाय ! यो समय ।

डरलाग्दो तथ्यांक

प्रहरीको बार्षिक तथ्याङ्कमा महिला यौन हिंशा र बलात्कारका घटनाहरुको सुची निकै लामो छ । जुन निकै डरलाग्दो छ र बर्षेनी बढिरहेको छ ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो ५ बर्षको तथ्याङ्कले करिब ६ हजार भन्दा बढीको संख्यामा किशोरी तथा बालिकाको बलात्कार भएको देखाउछ । यी त देखिएका केही प्रतिनिधि घटना मात्र हुन् । कैयन् घटना त समाज गुपचुप मै हराउछन् । जहाँ समाजको डरका कारण कतिपय घटनाहरु मिलापत्र हुन्छन् भने कति थाहा मै आउँदैनन् ।

सारा विश्व समृद्दीको तथ्यांक बढाइरहेको अहिलेको यो स्थितिमा हामी भने दिनानुदिन बलात्कारीको दर्दनाक सुचीमा आफ्नो नाम दर्ज गर्नमा व्यस्त भएका छौ ।

हाय ! यो समय ।

आखिर किन ?

महिलाहरुलाई पितृसत्तात्मक हाम्रो समाजले सधैं एक उपभोग्य वस्तुको रुपमा हेर्यो । विशेषगरी महिलाको शरीरमा सम्पूर्णत: पुरुषको हक ठानियो । त्यसैअनुसार आफ्नो बिटो सोझ्याउन अनेक अनेक धर्म, रीती, संस्कृति र चालचलन बनाइयो । सबै पुरुषले चाहे बमोजिम । समाज अझै पनि ‘महिलालाई सधैं मुनी पार्नुपर्छ’ भन्ने लज्जास्पद मानसिकताबाट प्रशिक्षित छ । यही सोच र मानसिकताले गर्दा पनि हाम्रो समाजमा बलात्कारका यस्ता दुर्घटनाहरु दिनानुदिन बढ्दै गैरहेका छन । यसमा हाम्रो कमजोर कानुनी व्यवस्था र यसको दयनीय पालनाले झनै मुख्य रोल खेलेको देखिन्छ ।

दु:खको कुरा त यो छ कि, जब कुनै किशोरीमाथि बलात्कार हुन्छ, तब बलात्कारीलाई समाजमा सिधै नङ्ग्याइनुको साटो उल्टै उक्त किशोरीमाथि औंला उठाइन्छ । अझ कतिपय स्थितिमा त अझ उसको हसिलो अनुहार, खुलस्त स्वभाव र वाहिरी पहिरन माथि दोष लगाइन्छ । मानौ कि उनीहरुले नै निधारमा खुलेयाम बलात्कारको निम्तो दिरहेछन जस्तो ।

घरेलु हिंशा देखी यौजन्य हिंशाका घटनामा समाज र समाजका बुद्दीजीवी भनाउदाहरुले महिलालाई नै दोषीका रुपमा उभ्याई रहेका हुन्छन् । छोटा कपडा, घरबाहिर हिँड्नु, केटाहरुसँगको संगत, प्रेम र शारिरीक सम्बन्धका कुराहरुलाई जोडेर बलात्कार तथा महिला हिंशाका घटनामा महिलालाई नै कमजोर र दोषीका रुपमा उभ्याएर यस्ता कुराहरुलाई सामसुम पार्ने चलनले खुबै हिट खाइरहेको छ अचेल । यसमा न त समाजले कुनै चासो देखाउछ न त कानुनले नै केही ताकत लाउने जाँगर देखाउछ । बस् ! सबजना रमाइरमाई हेरिरहन्छन्, नि:शुल्क रमिता ।

हाय ! यो समय ।

पीडितको कथा !

आफ्नै परिवार, आफन्त, समाज या कोही गिद्दे नजरबाट एउटी किशोरी बलात्‍कृत हुन्छे । उसले कहिल्यै नचाहेको कुरा घट्छ, बिल्कुल अचानक । तर सबैले उसको चाहनामा भएझै गरी हेर्न सुरु गर्छन् । सुरु हुन्छ, समाजको छि:छी र दुरदुर । सबैका रमिते आँखा, बलात्कारीको खुलेयाम मनमौजी । अझ त्यसमाथि परिवारको साथ पाए त हो, त्यो पनि पाइएन भने निश्चित हुन्छ, ‘आत्महत्या’को यात्रा । बस् ! अनि खत्तम ।

यती मै सकिन्छ एउटा जिन्दगी, हजारौ सपना, लाखौं रहर अनि करोडौ पदचापहरु ।

न कसैले बुझ्ने कोशीस गर्छ, बलात्कार एक अपराध हो भनेर न कसैले उसलाई सम्झाउछ कि बलात्कार पछि पनि जीवन हुन्छ भनेर । बस् ! रमिते हामी, हेरिरहन्छौ टुलुटुलु ।

फगत ! टुलुटुलु ।

बस् ! टुलुटुलु ।

हाय ! यो समय ।

समाधानको बाटो

कानुन, संविधान र राज्य मात्रै बलात्कारी घटनाका कारक अवश्य पनि होइनन् । सधैं अरुलाई नै दोष थुपार्ने हाम्रो नराम्रो चलन छ । म स्वयम नै महिलालाई फगत एक उपभोग्य वस्तुको रुपमा सोच्छु । उसलाई सधैं तल पार्ने मानसिकताको शिकार छु । सके शरीरले नसके आँखाबाट चिरहरण गरी नै रहन्छु । र पनि म आफुलाई बलात्कार बिरोधीको लाइनमा उभ्याउन तत्पर हुन्छु ।

मेरो घरको छेउमै एउटी छिमेकी बहिनीको बलात्कार हुन्छ र म भने मन भरुञ्जेल उसको लाचारीको रमिता हेर्छु र जब हेर्दाहेर्दा थाक्छु, तब चर्कोचर्को शब्दमा फेसबुकैभरी सरकार र सुरक्षा निकायलाई भक्कु गाली गर्छु । अनि, केही लाइक, कमेन्ट र शेयरको भरमा आफुलाई शेर घोषणा गर्छु । अहिलेको यो ‘म’को संख्या निकै बाक्लो छ, हाम्रो नेपालमा ।

जबसम्म यो रमिते टुलुटुलुको उदेकलाग्दो शृन्खलाको सदाका लागि अन्त्य हुँदैन, तबसम्म बलात्कारी केवल त्यो व्यक्ति मात्रै होइन जसले कसैको इज्जत लुट्ने दुस्साहस गर्छ । बलात्कारी त तपाईं-हामी सबै हौं, जो दिनानुदिन किशोरी केटीको लुटिएको आवाज सुन्न मन पराउछौ, पत्रीकाभरी यौनहिंशाका तात्ताता रसिला खबर पढ्दै हरेक दिनको सुरुवात गर्न मन पराउछौ र हरेक साँझ फेसबुक र ट्वीटरका भित्ताभरी अनेक बौद्धिक स्ट्याटस लेख्दै, सरकारको बिल्ला उडाउदै, कानुनी राज्यको उपहास गर्दै अनि एक अर्काका पोष्टमा लाइक कमेन्ट अनि शेयर गर्दै आफुलाई एक बौद्धिक, समझदार, समाजवादी, मानवतावादी एवम प्रगतीशिल भएको प्रमाणित गर्छौ र मिठो चिरनिद्रामा लिप्त हुन्छौ । भोली फुस, पर्सी खुस । चल्यो जिन्दगी ।

हाय ! हाम्रो समय ।

हाय ! हाम्रो महानता ।

ooo

ooo

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्