Logo

त्रिवि ईन्जिनियरिङ्गमा ३ सय ३६ सिट थप, विद्यार्थीको १५ करोड बचत



Spread the love

ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकले केन्द्रीय तथा आंगिक क्याम्पसहरूमा विद्यार्थी सिट सङ्ख्या वृद्धि गरेको छ । केन्द्रीय क्याम्पस, पुल्चोक र तीन आंगिक क्याम्पसहरूमा हाल संचालनमा रहेका संकायहरुमा सिट थप गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पढाई हुने पुलचोक क्याम्पस र आंगिक क्याम्पसमा सिट सङ्ख्या १ हजार ५ सय ३६ बाट ३ सय ३६ सिट बढाएर १ हजार  ८ सय ७२ बनाइएको छ ।

हाल थपिएको नयाँ सिट सङ्ख्याले ३ सय ३६ जना विद्यार्थीलाई निजी कलेजहरूको शुल्कको तुलनामा करिब साढे चार लाख लाख रुपैयाँ सहुलियत भएको छ । यसले गर्दा ईन्जिनियरिङ्ग प्रवेश परीक्षा पास गरेका तर आर्थिक समस्याका कारण निजी कलेजहरूमा पढ्न नसक्ने र महँगो शुल्कमा अध्ययन गर्न बाध्य विद्यार्थीलाई सहज हुनेछ । क्याम्पसहरूमा आवश्यक पूर्वाधार भएको र सिट थप्दा पनि विद्यार्थीको पठनपाठनमा समस्या नआउने भएपछि आज बसेको त्रिवि पदाधिकारी, विश्वविद्यालय अनुदान आयोगका  पदाधिकारी, प्राध्यापक, विद्यार्थी प्रतिनिधिहरू लगायतको बैठकले यस्तो निर्णय गरेको हो । एरोस्पेस ईन्जिनियरिङ्ग सम्बन्धी अन्य निर्णय भने यसअघी नै भईसकेका छन ।

निजी कलेजमा यिनै विषय पढ्दा करिब २३ करोड लाग्छ । तर, केन्द्रीय तथा आङगिक क्याम्पसमा भएको सिट सङ्ख्याले १५ करोड बचत हुन्छ अर्थात् विद्यार्थीको अध्ययन करिब ८ करोड मै सकिन्छ । यसमा भौतिक पूर्वाधार, आर्थिक लगायतका समस्याहरू आएमा विश्वविद्यालय अनुदान आयोगले सहयोग गर्ने सहमति पनि भएको छ । यसैबिच बैठकमा निजी क्याम्पसहरूले पनि सिट सङ्ख्या वृद्धिको प्रयास गरेको थिए तर सफल भने हुन सकेनन् । यो कार्य इन्जिनियरिंग शिक्षामा ‘कोसेढुंगा’ साबित हुने पुल्चोक क्याम्पसका  स्ववियु सभापति रोशन मगरले सल्लेरी खबरलाई जानकारी दिए ।

थप भएका कार्यक्रमहरू :

पुल्चोक क्याम्पस :  एरोस्पेस ईन्जिनियरिङ्ग- ४८ सिट, कम्प्युटर- ४८ सिट
थापाथली क्याम्पस: सिभिल – ४८ सिट, कम्प्युटर – ४८ सिट
पुर्वान्चल क्याम्पस:  मेकानिकल- ४८ सिट, कम्प्युटर- ४८ सिट
पश्चिमान्चल क्याम्पस : अटो मोबाइल – ४८ सिट

प्रतिक्रिया दिनुहोस्