Logo

क्यान्सर अस्पताल ४७५ शय्याको हुने



Spread the love

विसं ०५७ मा १०० शय्याबाट शुरु भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शय्याको हुने भएको छ ।

तत्कालीन समयमा चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालको नयाँ भवन बनेसँगै थप शय्या विस्तार गर्न लागिएको हो ।

हाल अस्पतालमा २२५ शय्या सञ्चालनमा छन् । नयाँ भवनमा २५० शय्या थपिने भएकाले बिरामी फर्कनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यही भदौ १५ गते नयाँ भवन उद्घाटन गरिने निर्देशक डा। आचार्यले बताए ।

नवनिर्मित भवनमा जनरल वार्डसँगै सघन उपचार कक्ष, उच्चस्तरका क्याविन, आकस्मिक कक्ष, शल्यक्रिया गर्नुपूर्व र पछि बिरामी राख्ने कक्ष, चिकित्सक छलफल गर्ने बैठक कक्ष, बिरामीका रेकर्ड राख्ने कक्ष छन् । अब ३५० शय्या सञ्चालनमा आउने र करीब तीन महिनामा ४७५ शय्या पुग्ने निर्देशक डा। आचार्यले बताए ।

टेण्डर भइरहेकाले पूरै शय्या सञ्चालनमा आउन केही समय लाग्ने भएको छ भने यसका लागि दक्ष जनशक्ति पनि थप गरिएको छ । हाल २० मेडिकल अफिसरसहित १०० विज्ञ चिकित्सक अस्पतालमा कार्यरत छन् भने चिनियाँ स्वयंसेवकका रूपमा १५ चिकित्सक कार्यरत छन् । अस्पतालमा नेपालका प्राय सबै जिल्ला र भारतबाट समेत बिरामी आउने गर्दछन् ।

नयाँ भवनसँगै बाहिरी सेकाइ, सेकाइको ठाउँ पहिचान गर्ने र भित्री अङ्गको सेकाइ गर्ने उपकरण सञ्चालनमा आउने छन् । ती उपकरण नयाँ खरिद गरिएका हुन् । नयाँ भवन र उपकरणले क्यान्सरका बिरामीलाई थप सेवा दिन मद्दत पुग्नेछ ।

अस्पतालमा उपकरण र भर्नाको सुविधा कम हुँदा बिरामी बाहिर जान बाध्य थिए । कार्यकारी निर्देशक आचार्य एक वर्ष अघिसम्म दैनिक बहिरङ्ग सेवामा तीन सय बिरामी आउने गरेकामा बढेर छ सय नाघेको र शय्या थपिएसँगै विरामीको सङ्ख्या बढ्न सक्ने उहाँको भनाइ थियो ।

गत वर्ष अस्पतालबाट एक लाख ३१ हजारले सेवा लिएका थिए । चालु आवमा दुई लाखभन्दा बढी बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ । अस्पतालमा आउने बिरामीमध्ये आठदेखि १० हजार नयाँ क्यान्सरका हुने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्