Logo

संविधान कार्यान्वयनमा सुखद् शुरुवात



Spread the love

सङ्घीय लोकतान्त्रिक संविधान जारी गर्न प्रमुख दलबीच बनेको सहमति, सहकार्य र एकता कार्यान्वयन गर्न पनि एकताको सुखद् शुरुवात भएकोमा सङ्घीय संसद्को माथिल्लो सदनका सांसदले खुशी व्यक्त गर्नुभएको छ ।

उहाँहरुले राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयनले संविधान कार्यान्वयन गर्न दलहरुका बीच एकता बलियो बनेको टिप्पणी गर्दै यो सहकार्यलाई आगामी दिनमा अझ बलियो बनाएर अघि बढ्न सुझावसमेत दिनुभयो ।

राष्ट्रियसभाअन्तर्गतका विषयगत सभापतिहरूको बुधबार निर्विरोध चयन भएको थियो । जनअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी निर्विरोध निर्वाचित हुनुभएको हो । दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने बताइएको छ ।

विधान व्यवस्थापन समितिको आज बसेको पहिलो बैठकमा समितिका सदस्य सांसदले कानून बनाउँदा दलीय स्वार्थभन्दा माथि उठेर संविधानको भावनालाई प्रतिविम्बित गर्ने प्रणसमेत गर्नुभयो ।

सांसद अनिता देवकोटाले सङ्घीय लोकतान्त्रिक संविधान जारी गर्न दलहरुका बीच जुन सहमति, सहकार्य र एकता भएको थियो, आगामी दिनमा संविधान कार्यान्वयन गर्न पनि दलहरुका बीच सहकार्य आवश्यक छ भन्नुभयो । सांसद जीतेन्द्रनारायण देवले सङ्घीय संविधानलाई सर्वाेपरि राखी कानून निर्माणमा दलगत स्वार्थभन्दा माथि उठी जनताको पीरमर्कालाई प्रतिविम्बित गर्नसक्नुपर्छ भन्नुभयो ।

सांसद शेरबहादुर कुँवरले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने मौलिक अधिकारसित सम्बन्धित विधेयकमाथि छलफल शुरु गर्न सुझाव दिनुभयो । सांसद नन्दा चपाई र ठगेन्द्रप्रकाश पुरीले सर्वसम्मति रुपमा सभापति चयन भई सहमतिको अभ्यास पुन शुरु भएकोमा खुशी व्यक्त गर्नुभयो । समितिका सभापति पर्शुराम मेघी गुरुङले समितिका काम सहमति र एकताबाट आगामी दिनमा अगाडि बढ्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्