Logo

चिकित्सक/नर्स हारेको देश ?



Spread the love

  • विवेक दर्शन अर्याल

हाम्रो अस्पतालमा ३ थरिका बिरामी आउछन ।

एकथरि- अस्पताल कर्मचारीका आफन्त, साथी-भाई जो भनसुनकै भरमा उपचार गराउछन ।

दोश्रोथरि- अस्पतालको ओ.पी.डी टिकट काटेर लाईनमै बसेर उपचार गराउछन ।

तेश्रोथरि-  बिपन्न, जो अस्पताल सम्म त पुग्छन तर आवस्यक उपचार गर्न सक्दैनन ।

 

भनसुनकै भरमा उपचार गराउनेहरुको लागि उपचार चुस्त छ । बिपन्नका लागि सुस्त छ । बिपन्न कोषबाट आर्थिक सहयोग त मिल्छ तर त्यसका लागि अस्पताल प्रशाशन संगगर्ने ठेलमठेल एक  चिकित्सक/नर्सले मात्र बुझ्न सक्छन । चिकित्सक/नर्सले बिपन्नकको उपचारका लागि गरिने ठेलमठेलले कहिले उनीहरुलाई Robin Hood बनाउछ त कहिले आफ्नै आस्पतालबाट दबिएको अनुभुती गराउछ ।

ओ.पी.डी बस्दा आर्को जात्रा सुरु हुन्छ । सोझो भाषामा फार्मेसी ब्रान्ड  जात्रा ।

फार्मेसी- “यही ब्रान्डको औषधी लेखिदिनुस है ।”

राम्रै होला भनेर लेखिदियो, पछि बल्ल थहा हुन्छ । त्यो ब्रान्डको औषधी बेच्दा फार्मेसीले ४० देखि ५० प्रतिशत सम्म बोनस पाउने रहेछ । कस्तो गुणस्तरको औषधी थियो होला, जसलाई बेच्दा ४० देखि ५० प्रतिशत बोनस आउने ?

अनि फेरी सुरु हुन्छ विज्ञ जात्रा (जेनेरिक औषधीको वकालत गर्ने) । वकालतको नाममा आखिर पेलिने एक चिकित्सक/नर्स नै हो । हे बाबा, गुणस्तर अनुगमन बिना कसरी जेनेरिक औषधी दिनु ?

एक चिकित्सकले बिरामीलाई जेनेरिक औषधी लेख्नु भनेको, औषधीको गुणस्तरको जिम्मा चिकित्सकले  सोझै फार्मेसी व्यापारीलाई दिनु भनेको हो । त्यही व्यापारीले  ब्रान्ड छान्न पाएमा धेरै बोनसको लोभमा गुणस्तरीय औषधी बेच्ला र  ? यही फार्मेसी, व्यापारी र विज्ञको बहसमै अल्झिएको हुन्छ एक चिकित्सक । यही गुणस्तर अनुगमन नभएकै कारण, एक चिकित्सक औषधीको ब्रान्ड लेख्न बाध्य बन्छ ।

एकतर्फ एम.बि.बि.एस. सक्न ५० देखि ६० लाख खर्च हुन्छ । अर्को तर्फ अस्पतालले एम.बि.बि.एस. मेडिकल अफिसरलाई २५ हजार अफर गर्छ । नर्सको व्यथा झन् छुट्टै छ । तलब नपाएको ४-५ महिना भएको हुन्छ । वैशाखको तलब असोजमा बुझेका हुन्छन् । आज साझ  ७ बजे सुरु भएको Night duty अर्को दिन दिउसो  १  बजे सम्म चल्छ । आफै सोच्नुस् रात भरि नसुतेको चिकित्सक/नर्सले मानसिक र शारीरिक रूपमा कसरी  चुस्त हुन्छन् । अनि कुरा हेलचेक्राई भयो भन्ने  उठ्छ ? बिरामीलाई जानी जानी मारियो आदि-आदि । एकतर्फ अस्पताल प्रशासनको पेलाई छ भने अर्को तर्फ पेसागत जिम्मेवारी र यसैमा रुमलिएको पेसागत परिस्थिति !

अनि अर्को कुरा काठमाडौँको गल्ली गल्लीमा खुलेका अस्पताल । एउटा चोकमा २-३ तले घर देख्न हुन्न अस्पताल खुल्छन् । तीनकुने देखि बानेश्वोरको दुरी लगभग १ कि.मि होला । यसो दाया-बायाँ हेर्दै हिँड्नु पर्छ हरेक १०-१५ पाइलामा एउटा अस्पताल भेटिन्छ । पुर्बधार छ या छैन कसले अनुगमन गर्ने ?? यसरी अनियन्त्रित र अव्यवस्थित रूपमा खुल्ने अस्पतालले दिने सेवा र सुविधामा कसले अनुगमन गर्ने ??  अनि उपचारमा कठिनाइ देखिदा दोष कसलाई !! – चिकित्सक वा नर्स हैन??

हाम्रो समाजमा एउटा भनाई प्रचलित छ – “मन परेमा देवरुपी र मन नपरेमा दानबरुपी नजरले व्याख्या गर्ने ।”

कहिले चिकित्सकलाई भगवानको संज्ञा दिने कहिले उसले आफूले जोखिम लिएर गरेको कार्यलाई दानबिकरण गर्ने । चिकित्सक/नर्स मानव हुन् जो पेसागत जिम्मेवारी बहन गरी हिँडेका हुन्छन् । आजको मितिसम्म एक चिकित्सक/नर्सले छातीमा हात राखेर भन्दा, बिरामीको पीडा देखेर झट्ट मनमा आउने पहिलो सोचाइ उपचार र बिरामीको जीवन नै हो । जसरी असललाई मण्डप र खराबलाई जेलको छुट्टाछुट्टै व्यवस्था छ । चिकित्सा लगायत हरेक पेसामा त्यो आवश्यक छ । तर, समग्र पेसालाई मन पर्दा देवत्वकरण वा चित्त नबुझ्दा दानवीकरण गरिनु हुँदैन ।डाक्टर विशेष शिक्षा र सिप भएको मानव हो । सबैको दिमागको एउटा भूल वा कमजोरी के भने, जुन घटना आफ्नो दिमागले सुझाउन सक्दैन वा चित्त बुझ्दैन, त्यसलाई अर्काको गल्तीको रूपमा बुझिदिने र प्रस्तुत गरिदिने प्रवृत्ति छ । सेतो कोट माथि stethoscope मात्र होइन, प्रशासनको पेलाई, दुख, पिडा सबै अदृश्य राखेर हिँडेका हुन्छन् एक चिकित्सक/नर्स ।

  • अर्याल हाल टिचिङ्ग अस्पताल महाराजगन्जमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्