Logo

संविधान दिवसलाई महोत्सव बनाउन ओलीको आग्रह



Spread the love

 प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।

गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको राष्ट्रको सबैभन्दा ठूलो पर्व संविधान दिवसलाई महोत्सवका रुपमा मनाइनुपर्नेमा जोड दिनुभयो ।

“संविधान दिवसलाई हाम्रा चाड, उत्सव र दिवसमध्ये राष्ट्रको साझा दिवसका रुपमा मनाइनुपर्छ किनकि हाम्रो सङ्घर्ष र बलिदानको सम्मानको खातिर प्राप्त उपलब्धिलाई संस्थागत गर्दै भविष्यको बाटो सुनिश्चित गर्ने काम संविधानले गर्छ, त्यसैले दिवसलाई तदअनुसार नै राष्ट्रिय साझा दिवसका रुपमा मनाइनुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

संविधान दिवसलाई सरकारी कर्मकाण्डीका रुपमा मात्रै सीमित गर्न नहुने बरु यसलाई जनस्तरमा पु¥याइनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सरकारी कार्यक्रम कर्मकाण्डी भए । जनताले अनुभूत गर्न पाएकै छैनन् । संविधान दिवस एउटा व्यक्तिको जन्मदिन मनाएजस्तो होइन, यसलाई पृथक ढङ्गले मनाउनुपर्छ ।”
प्रधानमन्त्री ओलीले धेरै ठूलो असहज र अप्ठ्यारोबाट संविधान जारी गरी कार्यान्वयनको दिशामा अघि बढेको र त्यसअनुसारको संरचना बनेको उल्लेख गर्दै यसको सम्बद्र्धनमा दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीले विद्यालय तहदेखि नै संविधानका बारेमा जानकारी गराउन आग्रह गर्दै कवि, लेखक कलाकार आदिमार्फत स्वतःफूर्त ढङ्गले रचनात्मक क्रियाकलाप गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “संविधान र समृद्धिका विषयमा कविगोष्ठी गर्नुस् । सङ्घीय संसद् भवनको अगाडि नेपालको संविधानको स्मारक राखौँ, यस्ता खाले कार्यक्रम जनव्यापी हुने र भविष्यमा पनि स्मरणमा रहने हुन्छन् । यस्ता राष्ट्रिय कार्यक्रम जनताको भएकाले जनस्तरमा पु¥याउनुपर्छ । यो हाम्रो सुन्दर भविष्यको रेखाङ्कन गरिएको कार्यक्रम भएकाले धूमधामसँग जनस्तरमै मनाइनुपर्छ । शहर, नगरपालिका झाँकीमय हुनुपर्छ, धूनमय बन्नुपर्छ, गाउँ, टोल आफ्नो पहिचानका साथ जुट्नुपर्छ, अनि मात्र यसको सार्थकता झल्किन्छ ।”

प्रमको अध्यक्षतामा मूल समिति

आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । समितिमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, उपसभामुखलगायत ३३ सदस्य हुनुन्छ ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा २२ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति र काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।

सो अवसरमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले संविधान दिवस, मूल समारोह समितिको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमअनुसार असोज २ गते काठमाडौँ उपत्यकाभित्रका सबै सरकारी कार्यालय, महानगरपालिका र नगरपालिकाले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाई नगरको शृङ्गार र सरसफाइ गर्ने एवं मुलुकभरका सरकारी कार्यालय तथा नागरिकले घरघरमा सरसफाइ र दीपावली गर्नेछन् ।

राष्ट्रिय सञ्चारमाध्यममा संविधानको विषयमा केन्द्रित रही विशेष परिसंवादलगायत कार्यक्रम प्रसारण– प्रकाशन गर्ने तथा राष्ट्रिय खेलकूद परिषद्बाट म्याराथुन तथा क्रिकेट खेलको आयोजना र साँझ दीपावली गरिने कार्यक्रम छ ।

असोज ३ गते सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिनेछ जहाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावको उपस्थिति रहनेछ ।
बिहान नेपाली सेनाद्वारा बिगुल(रिभ्याली) बजाउने, नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ (स्याल्भो र भली फायर) गर्ने कार्यक्रम छ ।

यस्तै असोज ४ गते सबै जिल्लामा वृक्षरोपण, रेडियो नेपालबाट जागरण गीत सम्मेलन तथा स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रसको समन्वयमा मुलुकभरी खुला रक्तदान कार्यक्रम गरिनेछ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्यदूतावासमा पनि संविधान दिवस मनाइने तथा असोज २, ३ र ४ गते साँझ दीपावली गरिनेछ छ । काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी केन्द्र, जिल्ला र स्थानीय तहमा संविधान दिवस जिल्ला समारोह समिति गठन गरी सरसफाइ, प्रभातफेरी, खेलकूद, प्रवचन र साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनीजस्ता विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने र तीन दिन साँझ दीपावली गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्