Logo

फर्निचर नहुँदा भुइँमै पठनपाठन



Spread the love

यहाँको एक विद्यालयमा भुइँमै बसेर पठनपाठन गरिँदै आएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयका विद्यार्थी फर्निचर अभावमा भुइँमा बसेर पढ्न बाध्य भएका हुन् ।

गत साउन २९ गते कालीगण्डकीमा आएको बाढीले विद्यालय भवन बगाएको थियो । भवन बगाएपछि कक्षा कोठा अभावका कारण पठनपाठनमा समस्या भएको प्रधानाध्यापक शान्ति राम्जालीले बताए ।

“अहिले स्थानीयवासीको घरमा पठनपाठन सञ्चालन गरेका छौँ, फर्निचर नहुँदा समस्या भएको छ,” उनले भने। अहिले म्याट्रेस भुइँमा ओछ्याएर विद्यार्थी बस्ने व्यवस्था गरिएको छ । फर्निचर नहुँदा विद्यार्थीलाई लेखपढ गर्न अप्ठ्यारो भएको छ ।

कालीगण्डकीले विद्यालयको ६ कोठे भवन बगाउँदा रु २५ लाख बराबरको क्षति भएको प्रअ राम्जालीले बताए । बाढीका कारण कोप्चेपानीका १० परिवार विस्थापित भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उक्त विद्यालयलाई रु ५० हजार सहयोग गरेका छन् । उनले विद्यालय भवन पुनःनिर्माणका लागि सो सहयोग गर्नुभएको हो ।

अध्यक्ष पुनले भवन पुनःनिर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको बताए ।  उनले आफ्नो पारिश्रमिकवापतको रकम कोषमा जम्मा गरेर गरीब, विपन्न र अनाथ बालबालिकालाई सहयोग गर्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्