Logo

सल्यानमा स्वास्थ्य स्वयंसेवीका दिवस सम्पन्न, तीन जना सम्मानित



Spread the love

salyan district

आज तेह्रौँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवस । “महिला स्वास्थ्य स्वयमसेविकाको निस्स्वार्थ सेवा, स्वास्थ्य, संमृद्ध राष्ट्र निर्माणमा टेवा” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी सल्यानमा पनि मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आयोजनामा आज यो दिवस सल्यानमा मनाईएको हो । दिवसको अवसरमा आज बिहान खलंगा गणेशथान देखी प्रभातफेरी निकालिएको थियो । गणेशथान देखी सुरु भएको प्रभातफेरी पुरानो बसपार्क हुदैँ टुडीखेलमा आएर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले स्वास्थ्य स्वयमसेविकाहरुको कामको सम्मान गर्नु पर्ने बताएका थिए । उनीहरूले स्वास्थ्यको क्षेत्रमा स्वयमसेविकाहरुले सराहनिय काम गरेको भन्दै काम अनुसारको सेवा सुविधा दिनु पर्ने माग गरेका छन् । राज्यले स्वयमसेविकाहरुको लागी थप प्रोत्साहन दिने खालका कार्यक्रम ल्याए आफ्नो काममा लाग्न झन् प्रेरणा मिल्ने उनीहरूले बताएका छन् ।

स्वास्थ्य स्वयमसेविका सुनिता शर्माको अध्यक्षतमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्वास्थ्य स्वयमसेविकाले परिवार नियोजनका साधन, सुरक्षित मातृत्व, झाडापखाला लगायतका विषयमा ग्रामीण स्तरमा सेवा तथा जनचेतना मूलक जानकारी दिने भन्दै उनीहरूको योगदान र भूमिकाको प्रशंसा गरेका थिए । स्वास्थ्य स्वयमसेविकाले ५ बर्षमुनीका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल, जुकाको औषधि यस्तै गर्भबती महिलाले खाने आईरन चक्की लगाएतका औषधि पनि वितरण गर्ने गरेका छन् ।
कार्यक्रममा राम्रो काम गरेको भन्दै विभिन्न स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान पनि गरिएको छ । आफ्नो काम र कर्तव्य प्रति थप जिम्मेवार भएर लाग्ने प्रेरणा दिने उद्देश्यले उनीहरूलाई सम्मान लगरिएको हो । कार्यक्रममा सम्मान पाउनेहरुमा ओईली वली, केउली खड्का र उमा थापा रहनु भएको छ । उहाँहरूलाई नगत तीन/तीन हजार सहित प्रमाण पत्रले सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय सल्यानका खिमेन्द्र शाक्यले गरेका थिए ।

उता दिवसको अवसरमा धनवाङमा पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति धनवाङका अध्यक्ष टुकाराम ओलीको अध्यक्षतामा भएको कार्यक्रममा गाविसमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, विभिन्न संघसंस्थाका तथा आमा समूहका प्रतिनिधि लगाएतकाले कुनै सेवा सुविधा विना पनि दिनरात गाउँमा खटेर स्वास्थ्य संस्थामै सुत्केरी गराउनमा स्वयम्सेविकाहरुले भूमिका खेलेको भन्दै उनीहरूलाई गाउँसमाजका हरेक व्यक्तिको सहयोग हुनुपर्ने बताएका छन् ।

स्वयमसेविकाको सहयोगले ५ वर्ष मुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई ठुलो मद्दत मिलेको र जसको कारण नवजात शिशुको मृत्युदर, वाल मृत्युदर र मातृमृत्युदरमा कमी आएको स्वास्थय चौकी धनवाङका इन्चार्ज देवेन्द्र कुमार सेनले जनाए । उनले परिवार नियोजनका साधनहरू प्रयोग गर्नेको सङ्ख्या बढ्नमा पनि स्वयमसेविकाको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनीहरूलाई विशेष धन्यवाद दिए ।

यसैबिच कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफुहरुलाइ राज्यले विभिन्न प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्ने बताएका छन् । वडा नम्बर ७ की महिला स्वास्थ्य स्वयम्सेविका हिमा गिरीले भनिन  ‘हामी निस्स्वार्थ सेवा भावनाले काम गरिरहेका छौँ तर राज्यले पनि हाम्रा छोराछोरिलाइ निःशुल्क शिक्षा दिक्षा, स्वास्थ्य उपचारको व्यवस्था गर्न र हाम्रो क्षमता अभिवृद्धि गर्ने खालका विभिन्न कार्यक्रमहरू ल्याउनुपर्छ’  ।

 

प्रतिक्रिया दिनुहोस्