Logo

विद्युत् चोरी गर्ने ३०२ जना कारवाहीमा ,कारवाहीमा परेका व्यक्तिबाट रु २८ लाख राजश्व सङ्कलन



Spread the love

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ ।

विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरुलाई कारवाही गरेको हो ।

कारवाही गरिएका व्यक्तिबाट कार्यालयले रु २८ लाख २० हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार चुहावट नियन्त्रणका लागि कार्यालयले समय समयमा छड्के अनुगमन गर्ने गरेको छ । जसका कारण चुहावटमा समेत कमी आएको कार्यालयको दाबी छ । कार्यालयले दिएको जानकारीअनुसार अघिल्लो आवको तुलनामा गत आवमा विद्युत् चुहावटमा एक दशमलब १८ प्रतिशतले कमी आएको छ ।

तथ्याङ्कअनुसार अघिल्लो आवमा १२ दशमलब ३९ प्रतिशत विद्युत् चुहावट भएकामा गत आवमा ११ दशमलब २१ प्रतिशत विद्युत् चुहावट भएको थियो । यसलाई घटाएर चालू आवमा शून्य प्रतिशत चुहावट झार्ने उद्देश्य रहेको महतोले बताए ।

कार्यालयले सोही अवधिमा समयमै महशुल नबुझाएका एक हजार १८३ जना सेवाग्राहीको लाइन काटेको छ । यस्तै काटिएका लाइनमध्ये एक हजार १०० जनाको पुनः जडान गरिएको महतोले बताए । पुनः जडान गर्ने सेवाग्राहीबाट रु दुई करोड आठ लाख २९ हजार जरिवाना रकम सङ्कलन गरेको छ ।

यस केन्द्रले भरतपुर महानगरपालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिका र देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ । गत आवमा सात हजार नयाँ ग्राहक थपिएका छन् । यो सँगै केन्द्रका ग्राहकको सङ्ख्या ८० हजार १९९ पुगेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्