Logo

सङ्घीयता बुझेनन् – महामन्त्री कोइराला



Spread the love

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेता र जनताले सङ्घीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताउनुभएको छ ।

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताका विषयमा सरकार, राजनीतिक दलका नेता र आम जनताले अझै बुझ्न सकेका छैनन् ।”

एक/दुईवटा निर्वाचनपछि सङ्घीयता कार्यान्वयन सहज भएर जाने पनि उहाँले बताउनुभयो । महामन्त्री कोइरालाले काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारका राम्रोलाई राम्रो र गलतलाई गलत भन्नुपर्छ । काँग्रेस जिम्मेवार प्रतिपक्षी भएकाले सरकारका हरेक गतिविधिलाई नजिकबाट हेरेर मूल्याङ्कन गर्नेछ ।”

समृद्ध राष्ट्र बनाउने अभियानमा काङ्ग्रेस पहिलेदेखि नै लागिरहेको भन्दै उहाँले सरकारका समृृद्धिका योजनामा आफ्नो पार्टीको सहयोग रहँदैआएको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले देशभरका नेता कार्यकर्ताको राय बुझेर आफूले पार्टीको सभापतिमा उम्मेदवारी दिने वा नदिने टुङ्गो लगाउने बताउनुभयो । पार्टीभित्र केही मतभेद रहेपनि त्यसको उचित व्यवस्थापन गरी एकढिक्का भएर जाने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्