Logo

एक जना कार्यालय सहयोगी भरमा भन्सार कार्यालय संचालन



Spread the love

इलामको सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ ।

पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गत रहेको छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो ।

चार जना कर्मचारीले सञ्चालन गर्ने मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयमा अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यरत छन् । नेपालबाट तरकारी, जडीबुटी निर्यात हुने र भारतबाट दैनिक उपभोग्य सामग्री आयात हुँदै आएको मानेभञ्ज्याङ नाकामा दरबन्दीअनुसारको कर्मचारी नहुँदा चोरी तस्करी बढेको छ ।

भन्सार कार्यालयमा जनशक्ति नहुँदा राजश्व पनि न्यून मात्रै सङ्कलन हुँदै आएको छ । अघिल्ला वर्षमा राजश्व लक्ष्यअनुसार सङ्कलन भए पनि कर्मचारी कम हुँदा अहिले मासिक रु २० देखि २५ हजार मात्रै सङ्कलन हुँदै आएको कार्यालय सहयोगी धिमालले बताउनुभयो ।

छोटी भन्सार कार्यालयको आफ्नै भवन जीर्ण भएपछि अझै निर्माण भएको छैन । २०६८ साल असोजमा गएको भूकम्पबाट कार्यालयको भवन क्षतिग्रस्त भएपछि कार्यालय अहिले भाडामा बस्दै आएको छ । भवन निर्माणका लागि धेरै पटक अनुरोध गरिए पनि अझैसम्म काम नभएको सूर्योदय नगरपालिका– १ का वडाध्यक्ष राजकुमार श्रेरेङले बताउनुभयो ।

पशुपतिनगर भन्सार कार्यालयका निमित्त प्रमुख सुरेश थपलियाका अनुसार दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगी खटाइएको हो । पशुपतिनगर भन्सार कार्यालयमा १७ जना कर्मचारीको दरबन्दी रहे पनि अहिले नौ जना मात्रै कार्यरत रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्