Logo

निर्मल आत्मा !



Spread the love

 

  • शिला अर्याल

जसले म
अनि,
मेरो मृत्युअघिको कथा,
म मरपछिको कथा,
देशका सात महिनादेखि
सत्तरी वर्षसम्मका नारीको कथा,
विश्वास गर्ने साथीले दिएको
धोकाको कथा,
शकुनी मामाजस्ताको कथा,
न्यायको लागि प्रधानमन्त्रीको
दैलोसम्म भौँतारिने आमाबाबुको कथा,
ठूलाबडाको गल्ती अपराध
ढाकछोप गरेको कथा,
यस्तै यस्तै
धेरै कथा !!!
पढ्नु भो
सम्झनु होस,
तपाईँ म निर्मलामात्रको कथा होइन
म जस्ता धेरै निर्मलाहरूको कथा पढ्दै हुनुन्छ,
पढ्दै जाँदा,केही अनुभव गर्नुहोस्
मेरो ठाउँमा तपाईँ
तपाईँ पनि नभए आफ्ना
आमा दिदीबहिनीहरूलाई उभ्याउनुहोस
म अनि मजस्ता धेरै नारीहरूको
आत्मा पिडा बोध गर्नुहुनेछ,
जसरी कञ्चनपुरको कुनामा म मरे
यस्ता कुना देशमा धेरै छन्
जहाँ…..,भोलि धेरै चेली म जसरी मर्न सक्छन् !
त्यसैले म भन्छु
अब त तपाईँ केही सोच्नु होस,
केही गर्नुहोस्,
अझै पनि मौन बस्नुभयो भने
म त मरिसके
परिणामको भागे दार
बाचेका आमा दिदीबहिनी हुनेछन्,
एउटा नारी जसले,
एउटा नारीलाई
बलात्कार भई मारिएर
हिलोमाथि अर्ध नग्न भई
पल्टिएको देख्दा पनि,
उसको आँखामा आँसु त परको कुरा
पहिला रगतले पोतिएको सुरुवाल
पखाल्न ढिला हुन्छ उसलाई,
एउटा पुलिस
जो दुनियाँलाई सुरक्षा दिन्छु भन्छ
तर दुनियाँ उहिसँग त्रसित छ,
एउटा नेता
जसले जनताको सेवा गर्छु भन्छ
उसैले अपराध गर्दा पनि
जनता उल्टो उसको सेवा गर्छ,
अधिकारवादीको खोल लगाउनेहरुपनि
न्याय दिलाउन भन्दा चर्चा कमाउन खोज्छन्,
सरकारी नुन खानेहरू
पहिला सुन खान खोज्छन्
जुटेका प्रमाण नष्ट गर्न खोज्छन्,
बाचेका जन,होसियार हुनु !!
देश खाइसकेका छन् यस्तै धमिराहरूले
बाहिर ठिक जस्तो देखिए पनि
भित्र भित्रै सबै खोक्रो भैसकेको छ
दूधको साक्षी बस्ने बिरलाहरुको के कमी
आफू न्यायको माला लगाइ
अरूलाई अन्यायले निचोर्छन्!
यदि कोही साँच्चै साक्षर छौ भने
मेरा आमाबाबुको मुहार पढ्नु
काखमा खेल्दै गरेकी छोरी बलात्कार भएर मर्दा
कस्तो हुन्छ जान्नेछौ
तर,
कसैले राष्ट्रपतिलाई नसोध्नु
तपाईँ पनि निर्मलाजस्तै नारी होइन र ?
कसैले प्रधानमन्त्रीलाई नसोध्नु
तपाईँका कोही निर्मलाजस्तै छैनन् र ?
देशमा दुइमुखे अलि धेरै छन् रे
म जस्ता धेरै निर्मलाहरूको लास त जल्यो
तर
आत्मा सबै जीवित छन्
ती अपराधीहरूको लास जलाउन,
हे अपराधीहरू
धेरै बाठो नबन
सूत्रले मात्र सोलु सन निस्कन्न
हिसाब गर्न त तिमीहरू जान्दैनौ
पर्खि बसे
हामी निर्मलाहरू नै आउँछौ
हिसाब सिकाउन !
हाम्रो आत्माले पर्खिएको भोलि
कहिले आउँछ ?
त्यो त थाहा छैन
तर
यदि यो आजले न्यायको भोलि पाएन भने
सबै जानिराख्नु
म जस्ता निर्मलाहरुनै
देवी दुर्गा देवी कालीको
अवतार लिनेछौ !

प्रतिक्रिया दिनुहोस्