Logo

मुलुक समृद्ध नभएसम्म मौलिक हकको कार्यान्वयनमा चुनौती



Spread the love

५ असोज, पर्वत  –राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय संसद्बाट पारित भएका मौलिक हक सम्बन्धी सबै कानून शतप्रतिशत कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल जेसिज क्षेत्र ख सम्मेलनको आज पर्वतको कुस्मा बजारमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “आर्थिकरुपमा मुलुक समृद्ध नभएसम्म मौलिक हकका सबै कानून शतप्रतिशत कार्यान्वयन गर्नु चुनौतीपूर्ण काम हो ।”

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “अबको जिम्मेवारी मौलिक हक सम्बन्धी सबै कानून शतप्रतिशत कार्यान्वयन गर्नु हो, अहिलेकै अवस्थामा यो चुनौतीपूर्ण कार्य छ, त्यसैले कानूनले सुनिश्चित गरेका मौलिक हक अधिकार उपभोग गर्न सक्ने हैसियत नेपाली जनताको बनाउनुपर्छ ।”

सङ्घीय संसद्ले अहिलेसम्म मौलिक हक सम्बन्धी १६ वटा विधेयक सर्वसम्मतरुपमा पारित गरेको बताउँदै उहाँले भोको पेटलाई कानूनको किताब देखाएर नपुग्ने भएकाले आर्थिक समृिद्धको यात्रामा नबढी सुखी छैन भन्नुभयो ।

“संविधानमा असहमति राख्ने पक्षलेसमेत मौलिक हक पारित गर्दा सहमति गरेका छन्”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “संविधानले दिएको हक कार्यान्वयन गर्ने वातावरण बनाउने दायित्व सबै राजनीतिक दलले लिनुपर्छ ।” अध्यक्ष तिमिल्सिनाले संविधानले ग्यारेण्टी गरेका कुरा पूरा नहुँदा नागरिक अदालत जान सक्ने अवस्था रहेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबीच उच्चस्तरको एकता र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा विधिको शासन स्थापित गर्नुपर्ने आवश्यकतामाथि जोड दिदैं विधि एकातर्फ तर शासन अर्कोतर्फ हुने विगतको परम्परालाई दोहोरिन दिनु हुँदैन भन्नेमा सबै सचेत हुनुपर्छ भन्नुभयो ।

नेपाल जेसिजका अध्यक्ष श्रीधर बस्यालले नेतृत्वमा जान पेश गरेका एजेण्डा नेतृत्व छोड्दा पूरा भयो की भएन भनेर छलफल गर्नुपर्ने जेसिजको जस्तै परम्परा राजनीतिक क्षेत्रमा बसाल्नुपर्ने बताउनुभयो ।

सम्मेलनमा नेपाल जेसिज क्षेत्र ‘ख’ अन्तर्गतका ३२ शाखा तथा नेपाल जेसिजअन्तर्गत अन्य शाखाका पदाधिकारी गरी ६०० भन्दा बढीको सहभागिता रहेकोे सम्मेलनका संयोजक वसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्